धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक बोलाइएको छ ।
नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको भोलिपल्ट बस्न लागेको संसदीय दलको बैठकलाई चासोका साथ हेरिएको छ । आन्तरिक मामिला तथा कानूनमन्त्री समेत रहेका संसदीय दलका नेता प्रकाश बहादुर शाहले मंगलबार संसदीय दलको बैठक बोलाउनुभएको हो । बैठकमा समसामयिक विषयमा छलफल हुने कार्यसूची छ ।
एमाले संसदीय दलको अंकगणित :
प्रदेश सभामा एमालेको तर्फबाट कुल २५ जना प्रदेश सभा सदस्यमध्ये नेपाल समूहका १८ जना र ओली समूहका ७ जना छन् । प्रदेश संसदीय दलका नेता शाह नेता भीम रावल निकट हुनुहुन्छ । उहाँले एमालेको केन्द्रीय कमिटीको निर्देशनको पालन गर्दै सरकारबाट फिर्ता हुने निर्णय गर्छन् वा नहुने त्यो भने हेर्न बाँकी छ ।
बहुमत प्रदेश सभा सदस्यले समर्थन गरेमा मुख्यमन्त्री त्रिलोचन भट्ट नेतृत्वको सरकार कायमै रहनेछ । तर पार्टीको निर्देशन पालन नगरेमा प्रदेश सभा सदस्यहरुलाई कारबाही गर्ने चेतावनी एमालेको अर्को पक्षले दिँदै आएको छ ।