काठमाडौँ । काठमाडौं उपत्यकामा फेरि थप गरिएको निषेधाज्ञा अवधिभर खाद्यान्न तथा किराना पसल र डिपार्टमेन्टल स्टोरलगायतका पसल समेत बन्द हुने भएका छन् ।
मंगलबार बसेको उपत्यकाका तीनै प्रमुख जिल्ला अधिकारीहरुको बैठकले १४ गतेदेखि लागू हुने गरि ती पसल बन्द गर्ने निर्णय गरेको हो । तर, केही पसलहरू भने बिहान ९ बजेसम्म खुल्न पाउने छन् ।
बिहान ९ बजेसम्म खुल्न पाउने पसलहरू
१. तरकारी पसल,
२.फलफूल पसल
३. दूध पसल
४. मासु पसल
५. खानेपानी र ग्यास पसलहरू ।
यस्तै, तरकारी तथा फलफूलको थोक बजारमा फुटकर विक्री वितरण गर्न नदिने निर्णय पनि प्रजिअहरूको छ । स्थानीय ढुवानी बिहान ९ बजेसम्म गर्न पाइने निर्णय पनि भएको छ ।
साथै, औषधि, खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदको कामका सबै अत्यावश्यक सेवा लिनु पर्दा बाहेक घरबाहिर ननिस्कन भनिएको छ । प्रशासनले मर्निङ वाक र इभिनिङ वाक गर्न समेत प्रतिबन्ध लगाएको छ ।
नयाँ आदेशअनुसार निषेधाज्ञा जेठ २० गते मध्यरातसम्म कायम गरिएको छ ।