काठमाडौं । कोरोनाको संक्रमणको दोस्रो लहर चलिरहेका बेला मलेसियाबाहेकका प्रमुख श्रम गन्तव्यका रोजगारदाता कम्पनीले नेपालबाट एक लाख १७ हजार कामदार लैजान मागपत्र प्रमाणीकरण गरेका छन् । ती देशले निर्माण क्षेत्रमा बढी कामदार लैजान माग पेस गरेका हु्न् ।
वैदेशिक रोजगार व्यवसायी संघका अनुसार कतार, साउदी अरब, संयुक्त अरब इमिरेट्स, बहराइन र ओमान, साइप्रस, रोमानियास्थित रोजगारदाताले नेपाली कामदारको माग गरेका हुन । संघका अनुसार प्रमुख गन्तव्य मुलुक मलेसिया र कुवेतले भने अहिलेसम्म कामदारको माग गरेका छैनन।
संघका महासचिव सुजित श्रेष्ठका अनुसार सबैभन्दा बढी कतारबाट ५० हजार, साउदी अरबबाट २६ हजार, साइप्रसबाट १७ हजार, संयुक्त अरब इमिरेट्स ९यूएई०बाट ५ हजार, रोमानियाबाट ९ हजार, बहराइनबाट १७ सय र ओमानबाट १५ सय जना नेपाली कामदारको माग भएको हो । युएईबाट सरकारी, अर्धसरकारी र फ्री जोन क्षेत्रका लागि कामदार माग भएको छ । कामदारको माग भए पनि कोरोना संक्रमणले उडान रोकिएका कारण उनीहरु गन्तव्य देश जान भने पाएका छैनन् ।
खाडीस्थित नेपाली दूतावासले रोजगारदाताबाट आउने मागपत्रलाई प्रमाणीकरण गरिरहेको छ । कतारका लागि नेपाली राजदूत नारद भारद्धाजले विश्वकप फुटबलको समय नजिकिदै आइरहेकाले कतारले आफूकहाँ निर्माणाधीन आयोजनाहरुलाई छिटो सम्पन्न गर्नतर्फ ध्यान दिएकाले कामदारको माग बढेको बताउनु भयो । ‘छिटो र छरितो प्रक्रियाबाट कामदार लैजानको लागि कतार सरकारले नेपालको सहजीकरण पनि खोजिरहेको छ,’ राजदूत भारद्धाजले भन्नुभयो, ‘श्रम सम्झौताको प्रक्रियाभित्र रहेर सहजै कामदार भर्ना गर्ने वातावरण बनाउनका लागि माथिल्लो निकायमा कुरा राखेको छु ।’
कतारले गत मार्चको २२ देखि कामदारको न्युनतम तलब एक हजार रियाललाई कार्यान्वयनमा ल्याएको छ । राजदूत भारद्धाजले कतारसँगको हवाई उडानलाई पनि निरन्तरता दिनको लागि सरकारलाई अनुरोध गरेको बताउनु भयो । ‘कामदारको उच्च माग छ । स्वास्थ्य मापदण्ड पूरा गरेर कामदार ल्याउन कतारले रोकेको छैन । यहाँ आइसकेपछि होटल क्वारेन्टाइनमा राखी पीसीआर परीक्षण गरेर मात्रै कम्पनीलाई पठाउने गरेको छ,’ उहाले भन्नुभयो ।
संघका महासचिव श्रेष्ठले निषेधाज्ञाका कारण कामदार भर्ना प्रक्रिया भने पूर्ण रूपमा प्रभावित भएको बताउनु भयो । उहाँका अनुसार ‘मागपत्र छ । अन्तर्वार्ता लिन विभागबाट स्वीकृति पनि छ तर एकातिर अन्तर्वार्ता लिन सकिएको छैन । खाडी क्षेत्रमा यूएई र कुवेतले मात्रै नेपालबाट आउने उडानलाई रोकेका छन् । कतार, साउदी, बहराइन, ओमान, साइप्रस लगायत देशले भने नेपाली कामदार आउन प्रतिबन्ध लगाएका छैनन् । बरु साउदीले भारतबाट आउने उडान रोकेपछि नेपालको हवाइ उडान प्रयोग गरिरहेको छ ।