सुदूरपश्चिम । नेकपा एमालेको सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले माओवादी केन्द्र नेतृत्वको सरकारबाट तत्काल समर्थन फिर्ता नलिने निर्णय गरेको छ ।
बुधबार विहान बसेको दलको बैठकले तत्काल समर्थन फिर्ता नलिने निर्णय गरेको प्रदेशसभा सदस्य सांसद अमर साउँदले जानकारी दिनुभयो । सोमबार एमालेको स्थायी कमिटीको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्देशन दिएको थियो । साथै एमालेबाट मन्त्री भएकाहरूलाई २४ घण्टाभित्र फिर्ता नभए कारबाही गर्ने चेतावनीसहित निर्देशन जारी गरिएको थियो । तर केन्द्रको निर्देशनलाई चुनौती दिँदै प्रदेश संसदीय दलले सरकारको समर्थन फिर्ता नलिने निर्णय गरेको छ ।
एमालेको माधव नेपाल पक्षको बहुमत रहेको सुदूरपश्चिम प्रदेश संसदीय दलले केन्द्रलाई चुनौती दिएको हो । पार्टी केन्द्रले नेपाल पक्षमा प्रदेश सांसदमाथि कारबाही गरेमा सुदूरपश्चिम सरकार संकटमा पर्ने छ । ५२ जना प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा एमालेका २५ जना सांसद रहनुभएको छ । सभामुखबाहेक २४ जनामा नेपाल पक्षका १८ र ओली पक्षमा ६ जना सांसद हुनुहुन्छ ।