काठमाडौँ । पूर्वमहान्यायाधिवक्ता रमण श्रेष्ठले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध महाअभियोग लगाउन दलहरू चुकेको बताएका छन् । महाअभियोग ल्याउनुपर्नेमा दलहरु रोकिँदा राष्ट्रपतिले दोस्रोपटक प्रतिनिधिसभा विघटन गरेको उनको तर्क छ । उनले भण्डारीविरुद्ध महाभियोग ल्याउनुपर्नेमा दलहरु चुकेको समेत बताएका छन् ।
‘पहिलोपटक प्रतिनिधिसभा विघटन गरेपछि राष्ट्रपतिलाई महाअभियोग लगाएको भए दोस्रोपटक प्रतिनिधिसभा विघटन हुने थिएन,’ सभामुख अग्निप्रसाद सापकोटाले कानुनका जानकारहरुसँग गरेको परामर्शमा वरिष्ठ अधिवक्ता श्रेष्ठले भने, ‘राष्ट्रपतिलाई महाभियोग नलगाएर दलहरुले गल्ती गरे ।’
उनले अमेरिकामा तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाभियोग लगाएको प्रसंग औल्याउँदै राष्ट्रपति भण्डारीले गल्ती गरिसक्दा महाभियोग नलगाएकाले दोस्रोपटक पनि गल्ती गरेको तर्क गरे । उनले राष्ट्रपति भण्डारीलाई कलंकित भने ।
गल्ती गर्ने राष्ट्रपतिलाई त्यतिकै छुट दिंदा गल्ती दोहोरिएको उनको भनाइ थियो । भविष्यमा गल्ती हुन नदिन पनि महाअभियोग लगाउनु पर्नेमा छुट दिएर दलहरुले गल्ती गरेको टिप्पणी उनले गरे ।