काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का प्रभाशाली विद्यार्थी संगठन अनेरास्ववियुका संयोजक ऐन महरले स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने अराजक तत्वलाई कडा कारवाही गर्न माग गर्नुभएको छ । आक्रमणबाट डाक्टर दीपक गुप्ता, डाक्टर चन्द्रप्रकाश साहु, डाक्टर समा अनसारी, स्टाफ नर्स आश्विन गुरुङ, सदीक्षा गैरे, बन्दना श्रेष्ठलाई चोटपटक लागेको भेरी अस्पताल प्रशासनले जानकारी दिएको छ ।
विहिवार राती बाँकेको भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि आइसियू कक्षमै डाक्टर र नर्समाथि आक्रमण गरिएको थियो । विश्वमा नै कारोनाका कारण आक्रान्त भइरहेको समयमा मानवीय जीवन रक्षाको निम्ती अग्रभागमा रही काम गर्ने स्वास्थ्यकर्मीमाथिको आक्रमणलाई अनेरास्ववियुले गंभिर रुपमा लिएको उल्लेख गर्दै संयोजक महरले घटनाको सत्य तथ्य छानविन गरी दोषीलाई कडा कानुनी कारवाही गर्न माग गर्नुभयो ।
उहाँले आफ्नो सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘भेरी अस्पतालमा स्वास्थ्यकर्मी माथि भएको हातपात र दुर्ब्यबहारको घोर भत्सर्ना एवं निन्दा गर्दछु । घटनाको सत्य तथ्य छानबिन गरि दोषीलाई कडा कानुनी कारबाहीको दायरामा ल्याउन स्थानिय प्रशासनको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।’
भेरी अस्पतालका चिकित्सकमाथि आक्रमण गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । घटनामा संलग्न रहेको आरोपमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ उरहरीका मानबहादुर रावत, भरत रावत र लोकराज रावतलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । उनीहरूमध्ये मानबहादुर मृतकका भाइ हुन् भने बाँकी २ जना मृतकका छोराहरू हुन् । बिहीबार कोरोना संक्रमित ५४ वर्षीय ती व्यक्तिको उपचारका क्रममा निधन भएको थियो । निधनसँगै मृतकका आफन्तले चिकित्सक तथा नर्सहरुमाथि सांघातिक हमला गरेका थिए ।