भौतिक पूर्वाधारमा १ खर्ब ६३ अर्ब बजेट, कुन सडकलाई कति ?
  • CIA Khabar

  • काठमाडौँ । सरकारले आर्थिक वर्ष २०७८/०७९ को बजेट विनियोजन गरेको छ ।

    अगामी आर्थिक वर्षको बजेटको आकार १६ खर्ब ४७ अर्ब ५७ करोड रहेको छ । जसमा चालुतर्फ ६ खर्ब ७८ अर्ब (४१.२ प्रतिशत), पुँजीगत तर्फ ३ खर्ब ४७ अर्ब २६ करोड रुपैयाँ (२२.७ प्रतिशत ) र वित्तीय व्यवस्थातर्फ २ खर्ब ९७ करोड रुपैयाँ (१२.६ प्रतिशत) बजेट विनियोजन गरिएको छ ।

    त्यस्तै, प्रदेश र स्थानीय तहमा ३ खर्ब ८६ अर्ब रुपैयाँ वित्तीय हस्तान्तरण गरिने भएको छ । प्रदेश र स्थानीय तहमा हस्तान्तरण भएको कुल वित्तीय हस्तान्तरण मध्ये ८४ प्रतिशत चालु शीर्षकमा खर्च हुनेछ ।

    सरकारले भौतिक पुर्वाधार तथा यातायातका लागि १ खर्ब ६३ अर्ब ३७ करोड रकम विनियोजन गरेको छ ।

    अर्थमन्त्री विष्णु पोखरेलले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै विभिन्न सडक, जलमार्ग, सुरुङमार्ग, पुल निर्माण तथा रेलसहितका आयोजानका लागि सो रकमको बजेट विनियोजन गरेको बताएका हुन् ।

    पूर्वपश्चिम राजमार्गका लागि १५ अर्ब ३४ करोड

    पूर्वपश्चिम राजमार्ग सुरक्षाका मापदण्ड अवलम्बन गर्दै विस्तारका लागि १५ अर्ब ३४ करोड रुपैयाँ विनियोजन भएको छ ।

    अर्थमन्त्री पौडेलले विभिन्न खण्डमा पूर्वपश्चिम राजमार्ग बिस्तार गरिने बताए ।

    मध्यपहाडी राजमार्ग ८ अर्ब १३ करोड

    आगामी वर्षका लागि मध्यपहाडी राजमार्ग विस्तार गर्न ८ अर्ब १३ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

    मदन भण्डारी राजमार्ग ३ अर्ब २० करोड

    मदन भण्डारी राजमार्गको चतरा-हेटौंडा खण्ड आगामी वर्ष सक्ने लक्ष्य लिइएको छ । बाँकी रेखांकन, डीपीआर र निर्माणका लागि ३ अर्ब २० करोड रुपैयाँ छुट्याइएको छ ।

    हुलाकी राजमार्ग ६ अर्ब ३९ करोड

    लामो समयदेखि अधुरो रहेको तराईका जिल्ला जोड्ने हुलाकी राजमार्ग निर्माणका लागि ६ अर्ब ३९ करोड विनियोजन गरिएको छ ।

    तराई मधेस द्रुतमार्ग ८ अर्ब १५ करोड

    काठमाडौँ- तराई/मधेस द्रुतमार्ग आयोजनाका लागि ८ अर्ब १५ करोड रुपैयाँ छुट्याइएको छ ।

    सिद्धार्थ राजमार्ग ७ अर्ब

    सिद्धार्थ राजमार्ग र कोहलपुर सुर्खेत राजमार्गलाइ डेडिकेटेड डबल लेनमा विस्तार गर्न ७ अर्ब रुपैयाँ विनियोजन गरिएको छ ।

    पृथ्वीराजमार्ग ७ अर्ब

    पृथ्वीराजमार्गको नागढुंगा-मुग्लिन खण्डको स्तरोन्नति र आबुँखैरेनी पोखरा चार लेनमा विस्तार गर्न ७ अर्ब २७ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

    पूर्वपश्चिम राजमार्गबाट तराई मधेशका १८ जिल्लामा सदरमुकाम हुँदै दक्षिणी सिमा जोड्ने सडकलाई चार लेन विस्तार गर्ने कार्यक्रम अन्तर्गत सम्पन्न हुा बाकी खण्डको विस्तार गर्न रु २ अर्ब ६६ करोड बिनियोजन गरिएको छ ।

    अरनिको राजमार्ग १ अर्ब १३ करोड

    धुलिखेल-दोलालघाट-कोदारी खण्ड स्तरोन्नति तथा विस्तारका लागि १ अर्ब १३ करोड रुपैयाँ छुट्याइएको छ ।

    महाकाली राजमार्ग १ अर्ब ३ करोड

    त्यस्तै महाकाली राजमार्गका लागि १ अर्व ३ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

    पुल निर्माण ११ अर्ब १० करोड

    रणनीतिक र स्थानीय गरी ३ सय पुल निर्माण सक्ने लक्ष्य लिइएको छ ।

    महाकाली नदीमा पुल निर्माण गर्न ११ अर्ब १० करोड रुपैयाँ छुट्याइएको छ। सडकको मापदण्ड, सिमाकंन, ड्रइङ डिजाइनका लागि राष्ट्रिय राजमार्ग प्राधिकरण स्थापना गरिने उल्लेख छ ।

    चक्रपथ दोस्रो खण्ड २ अर्ब ६४ करोड

    काठमाडौं चक्रपथको दोस्रो खण्ड कंलकीदेखि महाराजञ्ज विस्तार गरी २ वर्षभित्र सम्पन्न गर्ने पोखरेलले बताए । त्यसका लागि २ अर्ब ६४ करोड रुपैयाँ बजेटमा छ्ट्याइएको छ ।

    करिडोरमा ६ अर्ब ५० करोड

    मेची करिडोरको देउराली भैंसे खण्ड, तमोर करिडोरको चतरा-आलाङचुङगोला खण्ड, कोशी करिडोरको खाँदवारी-किमाथाङ्का खण्ड, त्रिशुली करिडोरको त्रिशुली- साफ्रुवेसी-सुवागढी खण्ड, कालीगण्डकी करिडोर, सेती लोकमार्गको टीकापुर-साँफे खण्ड निर्माण कार्यका लागि ६ अर्ब ५० करोड बिनियोजन भएको छ ।

    नाग्मा-गमगढी सडक स्तरोन्नतीका लागि १ अर्ब २० करोड बिनियोजन भएको छ ।

    भेरी सडक करिडोरका लागि ६१ करोड, महाकाली करिडोरका लागि १ अर्ब ३ करोड बिनियोजन गरिएको छ ।

    सुरुङ मार्ग ९ अर्ब ८५ करोड

    बजेटमा नागढुंगा सुरुङ मार्गका लागि ९ अर्ब ८५ करोड बजेट विनियोजन गरिएको छ ।

    त्यसबाहेक पाल्पाको सिद्धबाबा, दोलखाको लामाबगर, धरान धनकुटा सडकको धरान-लेउती खण्डको काम शुरु हुनेछ ।

    काठमाडौंको तिनकुने-जडिबुटी खण्डको सुरुङका लागि १ अर्ब ८० करोड विनियोजन गरिएको छ ।

    त्यस्तै टोखा छहरे, थानकोट-चित्लाङ, मझिमटार-शक्तिखोर, दुम्किबास-बर्दघाट र पाल्पाको प्रभास-जोर्ते सुरुङमार्गको सम्भाव्यता अध्ययन गर्नका लागि बजेट विनियोजन गरिएको छ ।

    रेल यातायात १० अर्ब

    त्यस्तै आगामी वर्ष जयनगर कुर्ता रेलमार्ग शुरु गर्ने, काठमाडौंमा मेट्रो रेलको सम्भाव्यता अध्ययन गरिनेछ ।

    रक्सौल-काठमाडौं र केरुङ-काठमाडौं रेल यातायातको अध्ययन शुरु गर्ने लगायतका कामका लागि १० अर्ब ३ करोड विनियोजन गरिएको छ ।

    त्यस्तै जलयातायातको लागि पनि आवश्यक रकम बिनियोजन गरिएको पौडेलले बताए ।

  • १६ जेष्ठ २०७८, आईतवार ०९:११ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images