काठमाडौँ । दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा संक्रमितको दैनिक वृद्धिमा कमी हुँदै गएको छ ।
डेढ महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ १ लाख ७४ हजार ४१ जनामा संक्रमण भएको छ । यो संख्या शनिबारको तुलनामा ३ हजारले बढी हो । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या २ करोड ७८ लाख ९३ हजार ४७२ पुगेको छ ।
यसअघि भारतमा पहिलो पटक १८ वैशाखमा कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो । संक्रमितको संख्या २४ वैशाखमा भारतमा सबैभन्दा उच्च विन्दुमा ४ लाख १४ हजार ४३३ पुगेको थियो ।
भारतमा दैनिक संक्रमितसँगै परीक्षण गरिएकामा कोरोना पोजेटिभ देखिने दर पनि घटेको छ । संक्रमणढ घटे पनि भारतमा मृतको संख्यामा भने उल्लेख्य कमी आएको छैन । पछिल्लो २४ घण्टामा त्यहाँ ३ हजार ६१४ जनाको मृत्यु भएको छ । पछिल्लो विवरणअनुसार भारतमा कोरोना संक्रमितको मृतक संख्या ३ लाख २५ हजार ९९८ पुगेको छ ।