काठमाडौँ । चीनबाट अक्सिजन सिलिन्डर, कन्सन्ट्रेटर, भेन्टिलेटर लगायतका थप स्वास्थ्य सामग्री नेपाल आइपुगेको छ । तातोपानी नाकामा उक्त सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरिएको नेपालको लागि चिनियाँ राजदूत होउ यान्छीले जानकारी दिएकी छन् ।
उक्त स्वास्थ्य सामग्री सिज्याङ तिब्बत सरकारको तर्फबाट अनुदानमा दिएको हो । यसअघि पनि चीनले यस्तो स्वास्थ्य सामग्री उपलब्ध गराउँदै आएको छ ।
आइतबार हस्तान्तरण भएको स्वास्थ्य सामग्रीमा ८ सय अक्सिजन सिलिन्डर, १० कस्सन्ट्रेटर, ५ भेन्टिलेटर, दुई सय आईसीयू बेड र १५ जार एन्टिजेन किट्स रहेको राजदूत यान्छीको ट्वीटमा उल्लेख छ । उनले उक्त सामाग्री तातोपानी भन्सारमा हस्तान्तरण गरिएको पनि जनाएकी छन् । चीनले यसअघि नै कोरोनाविरुद्धको ८ लाख डोज भ्याक्सिन दिइसकेको छ । १० लाख डोज भ्याक्सिन मंगलबार काठमाडौँ आइपुग्ने जानकारी दिइएको छ ।
शनिबार नै काठमाडौँ आइपुग्ने गरी चीन सरकारले तयार गरेको भए पनि नेपाल सरकारको उदासिनताको कारण मंगलबार बिहान आइपुग्ने भएको बेइजिङस्थित नेपाली दूतावासका एक अधिकारीले बताए । चीनले आठ लाख बेइजिङमा र दुई लाख तिब्बतमा खोप तयारी हालतमा बिहीबार नै राखेको थियो ।
खोप दिने विषयमा चिनियाँ राष्ट्रपति सि चिनिफिङले नेपाली समकक्षी विद्यादेवी भण्डारीलाई टेलिफोन नै गरेर घोषणा गरेका थिए । त्यो घोषणासँगै उनले अन्य सहयोग पनि रहने बताएका थिए ।