काठमाडौँ- कोरोना भाइरसको महामारीका बीच लुम्बिनी प्रदेशमा राष्ट्रियसभाको उपनिर्वाचन जारी छ ।उपनिर्वाचनमा कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको विपक्षी गठबन्धनका तर्फबाट दृगनारायण पाण्डे र एमालेका तर्फबाट चन्द्रबहादुर खड्का उम्मेदवार छन्।
दाङ घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा हुने निर्वाचन बिहान ९ बजे शुरू भएको मतदान अपराह्न ३ बजेसम्म हुनेछ ।
मतदानका लागि तीन वटा मतदान स्थल तोकिएको छ । प्रदेशसभा सदस्यका लागि (क), गाउँपालिका अध्यक्ष–उपाध्यक्ष र नगरपालिकाका प्रमुख र उपप्रमुखका लागि (ख) र कोभिड सङ्क्रमितका लागि (ग) मतदान केन्द्र तोकिएको छ ।
निर्वाचनमा मतदान गर्नेहरुले अनिवार्य पिसिआर परीक्षण रिपोर्ट पेस गर्नु पर्ने मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए।
निर्वाचनमा ३ सय मतदाता छन् । जसमा प्रदेश सांसदको संख्या ८३ छन् भने स्थानीय तहका प्रमुख–उपप्रमुख र अध्यक्ष–उपाध्यक्ष गरी २१७ मतदाता रहेका छन् ।
उपनिर्वाचनमा मतदाता नामावलीमा नाम नभएका चार जना मन्त्रीले पनि मत दिन पाउने भएका छन् ।
जनता समाजवादी पार्टी नेपालले कारबाही गरेर पद गए पनि पछि सर्वोच्च अदालतले पुनर्बहाली गरेका कल्पना पाण्डेय, सन्तोषकुमार पाण्डेय, सुमन शर्मा रायमाझी र विजयबहादुर यादवलाई पनि निर्वाचन आयोगले मताधिकार दिएको हो ।
यो उपनिर्वाचनमा प्रदेशसभामा कुल ८७ सांसद रहे पनि कारवाहीमा परेका थप चार जना सांसद भने मतदानबाट वञ्चित हुने भएका छन्।
माओवादी केन्द्रबाट निर्वाचित दधिराम न्यौपाने र दिनेश पन्थी पार्टीको कारवाहीमा परी पदमुक्त हुँदा मतदान गर्न पाउने छैनन्। त्यस्तै दाङबाट निर्वाचित एमाले सांसद अमरबहादुर डाँगीले पदबाट राजीनामा दिएको हुँदा उनले पनि मतदाधिकार पाउने छैनन् ।
यो निर्वाचनमा एकजना प्रदेशसभा सदस्यको मतभार ४८ छ । ८३ जनाको कुल मतभार ३ हजार ९ सय ८४ छ । स्थानीय तहका प्रमुख–उपप्रमुख गरी २१७ मतदाता छन् ।
उनीहरुको कूल मतभार ३ हजार ९ सय ६ छ । प्रदेश र स्थानीय तह जोडेर कुल मतभार ७ हजार ८ सय ९० पुगेको छ ।
मतपरिणाम आजै सार्वजनिक हुने
निर्वाचनको मतपरिणाम भर्चुअल माध्यमबाट आजै सार्वजनिक गरिने तयारी छ ।
कोरोनाको समयमा भिडभाड कम गर्नका लागि भर्चुअल माध्यमबाट मतपरिणाम सार्वजनिक गर्न लागिएको सहायक निर्वाचन अधिकृत मीनराज भट्टराईले जानकारी दिए ।