गण्डकी प्रदेशसभा : अवैधानिक सरकारले विधेयक ल्याएको भन्दै विपक्षी दलले छलफल गर्नै मानेनन्
  • CIA Khabar

  • गण्डकी । प्रदेशसभाका विपक्षी सांसदहरूले संसदमा छलफल चलिरहेको विनियोजन विधेयक २०७८ माथि धारणा राख्न अस्वीकार गरेका छन्।

    मंगलबारदेखि छलफल प्रारम्भ भएको उक्त विधेयकमा विपक्षी दल कांग्रेस र माओवादीका सांसदले धारणा राख्न नमानेका हुन् ।
    रोस्टममा पुगेका कांग्रेस सांसद प्रकाशचन्द्र दवाडी, विन्दुकुमार थापा, ललितकला गुरुङ, माओवादी सांसद लेखबहादुर थापामगर, रामजीप्रसाद बराल, आशा कोइराला लगायतले अवैधानिक सरकारले विधेयक ल्याएको भन्दै कुनै प्रतिक्रिया नदिने बताए ।

    गत २९ वैशाखमा पुनः मुख्यमन्त्री बनेका पृथ्वीसुब्बा गुरुङले २९ जेठभित्र विश्वासको मत लिनुपर्छ । विपक्षी सांसदहरूले पहिला विश्वासको मत लिएरमात्रै बजेटको काम र छलफल अगाडि बढाउन माग गरेका हुन् ।

    विपक्षी सांसदले केन्द्र सरकारकै बाटोमा प्रदेश सरकार चलिरहेको भन्दै आलोचनामै समय खर्चिए । ‘सरकार आफैँ वैधानिक छैन । गैरजिम्मेवार र अवैधानिक सरकारलाई सुझाव दिनु व्यर्थ हुन्छ । त्यसकारण यो सरकारलाई कुनै सुझाव दिन्न,’ माओवादी सांसद रामजीप्रसाद बरालले भने ।

    अन्य विपक्षी सांसदले पनि पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारलाई अवैधानिक भन्दै विधेयकमाथि धारणा नराख्ने बताए ।‘विश्वासको मत लिएपछि प्राथमिकता र सिद्धान्त, बजेट पास गर्ने कुरा त्यसपछि मात्रै आउने हुन्छ । पहिला वैधानिकता लिनुपर्छ । त्यसपछि अन्य प्रक्रियालाई अगाडि बढाउनुपर्छ,’ कांग्रेस सांसद विन्दुकुमार थापाले भने ।

  • १८ जेष्ठ २०७८, मंगलवार १६:०१ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images