काठमाडौँ । मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल बेसिक साइन्स भवन दहचोकमा ३०० शैयाको कोभिड–१९ कियर युनिट संचालन गर्नको लागी स्वास्थ तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी र शिक्षा बिज्ञान तथा प्रबिधिमन्त्री कृष्णगोपाल श्रेष्ठले संयुक्त रुपमा स्थलगत अनुगमन गरेका छन् ।
अनुगमनको क्रममा स्वास्थमन्त्री त्रीपाठीले मनमोहन मेडिकल कलेजको भवनमा तयार पार्न लागिएको कोभिड–१९ कियर युनिटलाई अक्सिजन प्लान्ट, केहि आइसियु र आवश्यक व्यवस्थापन सरकारले गर्ने बताएका छन् । उनले कोरोना नियन्त्रण गर्नका लागी विभिन्न संरचनालाई प्रयोग गर्ने क्रममा मनमोहन अस्पतालको दहचोक भवनलाई सरकारले ३०० बेडको सरुवा रोग अस्पतालको रुपमा अगाडी बढाउन लागेको जानकारी समेत दिए ।
मन्त्री त्रिपाठीले यत्रो ठूलो भौतिक संरचनाले सुसज्जित मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल वेसिक साईन्स भवनमा कुनै पनि हालतमा हाल महामारीमा रहेका नेपाली जनताहरुलाई स्वास्थ्य सेवा दिन यस अस्पताललाई आवश्यक पर्ने अक्सिजन प्लान्ट, प्यासेन्ट मनिटर सहित आईसियु शैया तथा भेन्टिलेटर सहितका उपकरणहरु र जनशक्तिको ब्यवस्थापन कालागि नेपाल सरकार, स्वास्थ्यतथा जनसंख्या मन्त्रालयको तर्फबाट आजबाट नै गृहकार्य थाल्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा बोल्दै मन्त्री त्रिपाठीले सहकारी संस्थाको लगानीमा बनेको उक्त अस्पताल संरचनाको उच्च मुल्यांकन गर्दै शिघ्र संचालन गरिनेमा जोड दिएका थिए । यो पूर्वाधारलाई पूर्ण सदुपयोग गर्नका लागि सरकारसँग २ वटा विकल्प रहेको भन्दै यसलाई कि त स्थानीय स्वास्थ्य संस्थाको रुपमा संचालन गर्ने अथवा सुविधा सम्पन्न हस्पिटलको रुपमा संचालन गरिनुपर्ने बताए ।
त्यसैगरी शिक्षा विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले कुनै एक व्यक्तिको सनकको भरमा राज्यको ठूलो लगानी रहेको यस्ता संरचनाहरु संचालन हुनबाट रोकिनु जायज नभएको भन्दै यसलाई तल्काल संचालन गरिनुपर्नेमा जोड दिए । हस्पिटल संरचना बनेर पनि संचालन नहुँदा भएका भवनहरु जीर्ण हुँदै गएको अवस्था दुखद् रहेको भन्दै संचालनमा रोक लगाउने भन्ने कुरा नै आफुलाई मान्य नभएको उनको भनाइ थियो ।
यस अस्पतालमा हाल रहेको ३ सय शैयामा राखिने बिरामीहरुका लागि आवश्यक पूर्वाधारहरु पनि आफुहरुसँग नभएको र यसबारे सिसिएमसि लगायत सम्पूर्ण संरचनामा कुरा राखिसक्दा पनि कुनै पहल नभएको भन्दै प्रबन्ध निर्देशक डा. धर्मदत्त सुवेदीले गुनासो व्यक्त गरे । यहाँ अत्यावश्यक अक्सिजन, अक्सिजन माक्स लगायतका कुनै पनि सुविधाहरु उपलब्ध हुने स्थिति बन्न सकेको छैन । यति ठुलो अस्पताल संरचना आँखै अगाडी भएर पनि यसबाट कुनै स्वास्थ्य लाभ लिन नपाउँदा दुःख लाग्ने गरेको स्थानिय बासिन्दाहरुले समेत बारम्बार दुःख व्यक्त गर्ने गरेको सुवेदीको भनाइ थियो ।
साथै मन्त्री त्रिपाठीले समुदायस्तरमा कोभिड रोकथामका लागि विविध उपायहरु अवलम्बन गरिने क्रमसँगै कोभिड संक्रमण दर घट्न लागेको उनले बताए । तथापी संक्रमणको तेस्रो लहरको जोखिम आउँदै गर्दा पहिलो चरणमा बृद्धबृद्धा, दोस्रो चरणमा युवा पुस्तालाई संक्रमणको जोखिम देखिएजस्तै तेस्रो लहरमा बालबालिका संक्रमणको जोखिममा रहेको हुँदा बेलैमा यसतर्फ सचेत हुँदै पूर्वतयारी थाल्नु जरुरी भएको उनको भनाइ थियो । २० लाख डोज खोप भारतबाट खरिद गरिएकोमा १० लाख डोज ल्याइसकिएको र १० लाख डोज भारतमा संक्रमण फैलिइसकेको अवस्थाले गर्दा ल्याउन नसकिएको बताउँदै बाँकी खोप खरिदका लागि मन्त्रालयले प्रक्रिया अघि बढाएको पनि मन्त्री त्रिपाठीको भनाई छ ।