चुरे दोहनले रित्तिँदै पानीको भण्डार
  • CIA Khabar

  • काठमाडौँ । फागुन दोस्रो साता जनकपुरधामको जानकी मन्दिर प्रांगणमा नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले भनेका थिए, ‘चुरेको विनाशलीला हेर्दा आँखा रसाउँछ । चुरे विनासका कारण जनकपुरमा अहिले ४ सय फिटमुनि पनि पानी भेटिन्न ।’ डा. यादवले सुनाएको दुःख जनकपुरको मात्र नभई सम्पूर्ण मधेसको हो । यस क्षेत्रका अधिकांश जिल्लाका गाउँबस्ती काकाकुल बनेका छन्। इनारहरू सुक्न थालेका छन् । गहिरो गरी गाडिएका चापाकल (ट्युबवेल) बाटसमेत पानी आउन छाडेको छ । खानेपानी संकटले मधेसका गाउँबस्ती पिरोलिएका छन् ।

    पानीको मूल सुक्दै जान थालेकाले धनुषाको गणेशमान चारनाथ नगरपालिका–७ नवटोली बस्तीलाई खानेपानी समस्याले चर्को रूपमा गाँजेको छ । चारनाथ खोला र कमला नदी उत्तरवर्ती चुरे पहाडमा भइरहेको अनियन्त्रित दोहनका कारण यस भेगका जनता काकाकुल बन्दै गएको नवटोली निवासी कमल महतोले बताए । ‘कलको ह्यान्डल घन्टौं थिच्दा पनि बाल्टिन भरिँदैन,’ उनले सुनाए । महतोको घरसामुन्ने खानेपानी कार्यालयले बनाइदिएको इनार छ, तर दुई वर्ष भयो पानी पलाउन छाडेको छ ।

    सिरहाको कर्जन्हा नगरपालिका–२ बन्दीपुरका जनता पनि खानेपानीको चरम अभाव खेप्न बाध्य छन् । ‘दुई वर्षअघिसम्म जसोतसो चापाकलले पानी फालेको थियो,’ स्थानीय गीता जोशी भन्छिन्, ‘पोहोरबाट त चुहिनै छाड्यो ।’ यतिखेर गीताको परिवारलाई राजमार्गभन्दा दक्षिणतिर घर भएकी सुनिता भट्टराईकहाँबाट पानी ल्याएर प्यास मेटाउनुको विकल्प छैन । सिरहा गोलबजार नगरपालिकाका जनता पनि काकाकुल बन्न पुगेका छन् । चुरेनजिकैको यो नगरपालिकाका अधिकांश वडाका बासिन्दा पानीको चर्को अभाव बेहोर्न बाध्य छन् । पानीको मुहान तलतल गएपछि नगरवासीलाई खानेपानीको समस्या झन्झन् चुलिँदै गएको स्थानीय रामस्वरूप महतो बताउँछन् ।

    चुरे फेदीमा अवस्थित धनगढीमाई नगरपालिकामा पनि खानेपानीको चर्को संकट छ । बस्तीको दक्षिण, पूर्व र उत्तर तीनैतिर जथाभाबी खानीजन्य पदार्थ उत्खनन, उत्तरको चुरेमा वन फँडानी र ढुंगा उत्खननका कारण खानेपानीका स्रोतका रूपमा रहेका बस्तीबस्तीका इनार सुकेका छन् । इनारमा पानी सुक्दा महुलिया, मुसहर्निया, महुवाडाँडा, टेनाटोल, खुट्टी, मड्यान, सर्रेलगायत टोलवासी पिरोलिएका छन् । महुलीका बासिन्दा छिमेकी कसहाको इनारमा मोटर जडान गरेर पानीको जोहो गर्छन् । त्यो इनारमा पनि पानीको सतह घटिसकेकाले पानी नपरे खानेपानी समस्या बढ्ने भन्दै स्थानीय पिरोलिएका हुन् ।

    ‘छिमेकी गाउँ कसहाबाट मोटर जडान गरेर पानी ल्याएका छौं,’ महुलियाका विश्वनाथ यादव भन्छन्, ‘कसहा र महुलियाका बासिन्दाले दुई दर्जनभन्दा बढी मोटर जडान गरेर हाललाई पानीको आवश्यकता पूर्ति गरे पनि बेलैमा वर्षा भएन भने त्यो इनारसमेत सुक्ने सम्भावना छ ।’ पिउने पानी नै नभएपछि कसरी बाँच्नु भन्दै पिरोलिएकी महुलिया निवासी शर्मिला यादवले नागरिकसँग भनिन्, ‘खानेपानीको अभावले साह्रै दुःख भोग्नुपरेको छ ।’ महुलिया बस्तीमा मात्र ५५ घरधुरी यादव, २ महतो, २ राम र १ सोनार गरी ६० घरधुरीको बसोबास छ ।

    महुलिया मात्र होइन, सिरहामा चुरेसँग जोडिएका उत्तरी क्षेत्रका तीन दर्जनभन्दा बढी बस्तीका बासिन्दा बर्सेनि खानेपानीको चर्को समस्यामा परेका छन् । वर्षायामबाहेक उत्तरवर्ती क्षेत्रका बासिन्दाले चार महिनाजति खानेपानीको चरम समस्यासँग जुध्नुपर्ने अवस्था छ । त्यहाँका बासिन्दाले वर्षायाममा समेत खोलाको धमिलो पानीमा भर पर्नुपर्छ ।

    फागुनको सुरुआतदेखि नै इनार, ट्युबवेललगायत खानेपानीका स्रोत सुक्न थालेपछि खोला र खोल्सीको पानीले तिर्खा मेट्न बाध्य भएको स्थानीयको भनाइ छ । लहान नगरपालिकामा पनि पानीको सतह तलतल गएको छ । नगरका बासिन्दा गहिरो खाल्डोमुनि मोटर लगाएर पानीको जोहो गर्न बाध्य छन् । नगरको उत्तरवर्ती बरदमार, गोविन्दपुरलगायत क्षेत्रका बासिन्दालाई पनि प्यास मेट्न सकस छ। खानेपानीको समस्या उत्तरवर्ती क्षेत्रबाट फैलिँदै बिस्तारै दक्षिणवर्ती क्षेत्रमा समेत सुरु भइसकेको छ । पाँच वर्षअघिसम्म लहानमा ट्युबवेल जडान गर्दा ४० फिट गहिराइमा भेटिने पानीको सतह पाउन अहिले १ फिटभन्दा तल जानुपर्छ। यो अवस्था बर्सेनि बढ्दै गए पानीको समस्या भोग्नुपर्ने अवस्था आउने स्थानीयको भनाइ छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।

  • १९ जेष्ठ २०७८, बुधबार ०९:१७ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images