सर्वोच्च पुगे माओवादीले हटाएका तीन सांसद
  • CIA Khabar

  • काठमाडौं । नेकपा माओवादीले प्रदेश २ सांसदबाट हटाएका तीनजना सर्वोच्च अदालत पुगेका छन् । नेकपा खारेजको फैसलापश्चात एमाले रोजेपछि माओवादीले पदमुक्त गरेका सांसदहरू रामचन्द्र मण्डल, मो. समिर र कुन्दन प्रसाद कुशवाहाले सर्वोच्चमा उत्प्रेषण परमादेशको मागसहित रिट दर्ता गराउनु भएको हो । ६ दिनअघि दर्ता गरिएको रिटमा आफूहरूलाई हटाइनु संविधानविपरीत रहेको उहाँहरूको जिकिर छ ।

    मण्डल माओवादीमा हुँदा प्रदेश २ संसदीय दलका नेता हुनुहुन्थ्यो । एमाले माओवादी एकीकरणपश्चात सत्यनारायण मण्डल चुनिनुभयो । तर नेकपा खारेजको फागुन २३ गते सर्वोच्चको फैसलासँगै एमाले र माओवादी ब्युँतिएपछि माओवादीबाट प्रदेशसभामा निर्वाचित चार सांसदले एमालेलाई साथ दिए । रामचन्द्र मण्डललाई एमालेले केन्द्रीय सदस्यमै मनोनीत गर्‍यो ।

    एमालेमा लागेको भन्दै सोधिएको स्पष्टीकरणको जवाफ नआएपछि माओवादीले उहाँहरूलाई सांसदबाट पदमुक्त गराएको थियो । पदमुक्त भएको डेढ महिनापछि तीन सांसद अदालतको ढोकामा पुगेका हुन् । मण्डलले भने, ‘रिट हालेको छु । तर यसबारे अहिले तत्काल केहि बोल्दिनँ ।’ मण्डल धनुषा क्षेत्र नम्वर १ (ख) बाट निर्वाचित हुनुभएको थियो । अर्का पदमुक्त समानुपातिक सांसद मो. समिरको ठाउँमा पस्मिना कादरीलाई जिम्मेवारी दिइसकेको छ ।

    अर्का पदमुक्त रौतहट निर्वाचन क्षेत्र नम्बर ३ (ख) बाट निर्वाचित साँसद कुन्दनप्रसाद कुशवाहाले पार्टीले आफूमाथि अन्याय गरेकाले सर्वोच्च पुगेको प्रतिक्रिया दिनुभयो । पार्टीले पदमुक्त गरेको निर्णय बदरका लागि सर्वोच्चमा रिट हालेको उहाँको भनाइ छ । सो रिटमा सर्वोच्चका न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले १५ दिनभित्र निवेदक र प्रदेशसभा सचिवालय प्रदेश २, निर्वाचन आयोग, नेकपा माओवादी केन्द्र र संसदीय दललाई छलफलका लागि बोलाएको छ ।

  • १९ जेष्ठ २०७८, बुधबार ०९:२६ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images