सुदूरपश्चिम। पछिल्ला केही दिनयता सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमण दर घट्दो अवस्था देखिएको छ । प्रदेशमा कोरोना संक्रमणसँगै मृत्युदर पनि घटेको छ । कोरोनाबाट सुदूरपश्चिम प्रदेशमा एकै दिन सबैभन्दा धेरै ३१ जनासम्मले ज्यान गुमाएको तथ्यांक स्वास्थ्य मन्त्रालयसँग छ ।
सबैभन्दा धेरै २८ वैशाखमा ३१ जना र ३१ वैशाखमा ३० जना संक्रमितले ज्यान गुमाएका थिए । तर, पछिल्लो एक सातायता संक्रमितको संक्रमणदर घटेसँगै मृत्युदर पनि घटेको हो ।
प्रदेश स्वास्थ्य निर्देशनालयका भेक्टर कन्ट्रोलर हेमराज जोशीले कोरोना परीक्षण गरिएको कुल संख्यामध्ये ६० प्रतिशतमा कोरोना संक्रमण देखिने गरेको भए पनि अहिले त्यस्तो संख्या ३० देखि ३५ प्रतिशत झरेको बताए । उनका अनुसार मृत्युदर पनि एक सातायता कम छ ।
निर्देशनालयका अनुसार वैशाख महिनामा २ अंकमा रहेको मृत्युदर घटेर अहिले १ अंकमा झरेको छ । मंगलबार प्रदेशभर २ हजार १ सय ३१ जनाको परीक्षण गर्दा ४५४ जनामा संक्रमण पुष्टि भएको छ भने छ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
निर्देशनालयको मंगलबारसम्मको तथ्यांकअनुसार हालसम्म प्रदेशभर सक्रिय संक्रमित ११ हजार ५ सय ५४ जना छन् भने ५ सय ६ संक्रमितको मृत्यु भएको छ । निर्देशनालयका भेक्टर कन्ट्रोलर जोशीले भने, अहिले प्रदेशभर परीक्षण गरिएका ३० देखि ३५ प्रतिशतमा संक्रमण देखिएको छ, । तर, अहिले नै संक्रमण कम भएको मान्न भने सकिन्न ।
जोशीले सुदूरपश्चिमका कैलालीको सेती प्रादेशिक अस्पताल, टीकापुर अस्पताल, कञ्चनपुरको महाकाली अस्पताल र डडेल्धुरा अस्पताललगायत विभिन्न अस्पतालहरूमा संक्रमितको उपचार भइरहेको र केही दिनअघिसम्म सबै अस्पताल संक्रमित बिरामीले भरिभराउ रहेको बताए । उनले भने, ‘तर, अहिले केही मात्रामा संक्रमित घटेपछि उपचारमा सहज भएको अस्पतालहरूले जनाएका छन् ।
सुदूरपश्चिमकै रेफलर सेती प्रादेशिक अस्पतालमा दुई साताअघिसम्म संक्रमितले भरिभराउ भएर उपचार गर्न समस्या भई अस्पतालबाहिर टेन्ट लगाएरसमेत उपचार गर्नुपरेको तर एक सातायता संक्रमित घटेको सोही अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए ।