मकवानपुर । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका-१९, नेवारपानीका उसमान वाइवाले १३ वर्ष नेपाली सेनामा जागिर खाए । पेन्सन हुन केही समय बाँकी हुँदै उपदान लिएर उनले जागिर छाेडे अनि तरकारी खेती र बाख्रा पालनतिर लागे ।
वाइवाले अहिले ‘नेवारपानी उन्नत बाख्रा’ फार्ममा एक सयभन्दा धेरै बाख्रा पालिरहेका छन् । कृषिमा राम्रो सम्भावना देखेर सेनाको जागिर बेलैमा छोडेर तरकारी र बाख्रा पालनतिर लागेको वाइवाले बताए । फार्ममा सबै जातका बाख्रा मिलाएर पालेको उनकाे भनाइ छ ।
उनले सुरुमा ८ लाख लगानी गरेर २० वटा बाख्रा पाल्न थालेका थिए । ‘नेपालभित्र कृषिमा राम्रो सम्भावना देखेर बाख्रा पालनमा लागेको हुँ । मलाई लाग्छ- ६०/७० हजार कमाउन विदेश जानुपर्दैन । आफ्नै बाँझो बारीमा खेतीपाती गरियाे भने विदेशभन्दा राम्रो कमाइ हुन्छ’, उनले भने, ‘बजारमा बाख्राको माग धेरै छ । मागजति फार्ममा उत्पादन गर्न सकेको छैन । पछिल्लो समय व्यावसायिक बाख्रा पालन गर्न किसानहरू ४० वटासम्म बाख्रा माग गरिरहेका छन् ।
हाल श्रीमती र म बाख्राकाे स्याहारसुसारमै व्यस्त हुन्छौं । कृषि पेसाबाट परिवारका सबै सदस्यले रोजगारी पाएकाे र परिवार पाल्ने आयस्रोत समेत जुटिरहेकाे उनको भनाइ छ ।
२०७३ सालदेखि बाख्रा पाल्न थालेका उनले फार्ममा अहिलेसम्म ३५ लाखजति लगानी गरिसकेका छन् । सबै खर्च कटाएर मासिक ७० हजार रूपैयाँसम्म कमाइ हुने गरेको उसमानले बताए ।
गत वर्षको लकडाउनदेखि तरकारी खेतीसमेत गर्न थालेको उनी बताउँछन् । तरकारी खेतीबाट एक सिजनमा १ लाख ५० हजार रुपैयाँसम्म आम्दानी हुने गरेको वाइवाले बताए ।
वाइवाले हाल ३२ वटा जिल्लामा विभिन्न जातका बाख्रा बिक्री गर्दै आएका छन् । उनको फार्ममा उत्पादन भएका बाख्रा हेटौंडासहित मकवानपुरका स्थानीय बजारमा बिक्री हुन्छन् । पाठा प्रतिगोटा ५ हजार र मासु प्रतिकेजी ७ सय रुपैयाँमा बिक्री हुनेगरेको उनले जनाए ।
‘खोरमा पालेर बाख्रा पालन फस्टाउँदैन । बाख्रालाई चरन नै आवश्यक पर्छ’, वाइवा भन्छन् । खोरमा पालेरभन्दा चराउन लैजाँदा नै बाख्रा छिटो बढ्ने उनकाे अनुभव छ ।
वाइवाले फार्ममा लोकल र अन्य जातका बाख्रा पाल्दै आएका छन् ।
सरकारले कृषिका लागि राम्रा योजना ल्याए पनि कृषि तथा पशुपन्छी विकासका मन्त्रालयको दराजभित्र थन्काउने गरेको वाइवाको गुनासाे छ ।
नेपालमा कृषिको राम्रो सम्भावना भए पनि कृषि प्रविधिको अभाव, अनुसन्धानमा कमी, दक्ष जनशक्तिको अभावलगायत कारणले खेतीपाती गर्ने शैली परिवर्तन हुन नसकेको उनले बताए ।
‘पछिल्लो समय किसानको आयस्रोत बढेको होला । तर, खेतीपातीमा कृषि प्रविधिको विकास खासै भएको छैन् । सरकारले यो विषयमा चासोसमेत दिएको छैन’, उनले भने, ‘सरकारले हाल कृषिमा वितरण गरिरहेको अनुदान रकम किसानलाई आधुनिकीकरण तालिमका लागि खर्चिनुपर्छ । नेपालमा कृषि पेसा फस्टाउँदै छ । तर, कृषिका लागि आवश्यक प्रविधिको विकास भने हुने सकेन ।’
हाल नेपालको कुल गार्हस्थ्य उत्पादनमा ३५ प्रतिशत कृषिकाे याेगादन छ । सरकारले कृषिलाई प्रविधिमैत्री बनाउने हो भने कुल गार्हस्थ्य उत्पादन बढेर दोब्बर पुग्ने उनको दाबी छ ।
नेपालमा पाइने बाख्रा
नेपालमा पछिल्लो समय बोयर, जमुनापारि, बारबारी, सानन्, विटल, सिरोही र बोचर जातका बाख्रा व्यवसायिक रूपमा पालिन्छ । खरी, औले, तराई र सिन्हाल जातका रैथाने बाख्रा धेरैले पालेका छन् । स्थानीय बाख्रामा, पहाडी क्षेत्रमा खरी बाख्रा, हिमाली क्षेत्रमा च्याङग्रा, सिन्हाल प्रमुख हुन् । बाख्राको मासु, दूध, ऊन र मलका लागि धेरैजसो किसानहरूले पाल्ने गरेका छन् ।