काठमाडौँ । अहिल एउटा माछाको तस्वीर सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
एक व्यक्तिले आफू जत्रै माछा नाम्लोले भारी बोकेझै बोकेका छन् । यति ठूलो अजंगको माछा त्यसमाथि नाम्लोले नै बोक्नुपर्ने अवस्थाको भएपछि मानिसहरुले सामाजिक सञ्जालमा विभिन्न क्रिया-प्रतिक्रिया जनाएका छन् ।
उक्त तस्वीर फेसबुक तथा ट्वीटरमा शेयर गर्दै विभिन्न ठाउँको माछा भनेर भ्रम फिजाउने काम गरेको पाइएको छ । तर यसको वास्तविकता भने केही फरक छ ।
छुट्टाछुट्टै दाबी बाझिएपछि हामीले यसको फ्याक्ट चेक गरेका छौँ ।
माछाको भ्रमः
माछा बोकेको यो तस्वीरमा कसैले यो माछा कालिगण्डकीको भनेका छन् भने कतिले यसलाई संखुवासभाको सभा खोलामा मारेको भनेका छन् । केहीले असला माछा भन्दै सामाजिक सञ्जालमा शेयर गरेका छन् । तर, यसको वास्तविकता भने फरक छ ।
वास्तविकता : पहिलो कुरा यो असला माछा नै होइन । दोस्रो यो माछा सामाजिक सञ्जालमा केहीले दाबी गरे अनुसार संखुवासभाको सभा खोलामा मारिएको पनि होइन ।
यस विषयमा तस्वीर लिने व्यक्ति सुन्दर कसजुले खबरहबसँग भने यो ५५ केजीको माछा कालिगण्डकीको रिँडीमा समातिएको हो ।
स्थानीय भाषामा गोच भनिने यस माछालाई वेल्स क्याटफिस (Wells catfish) भनिन्छ । जसको औषत आयु ५० बर्षको हुन्छ । तसर्थ यो संखुवासभामा मारिएको भन्ने दाबी सरासर झुटो हो ।