मुम्बई(दैनिक भास्कर) । अभिनेता टाइगर श्राफ र अभिनेत्री दिशा पाटनीविरुद्ध मुम्बई प्रहरीले एफआइआर दर्ता गराएको छ । दुई दिन अघि दिउँसो दुई बजे मुम्बईको बेडस्टेण्डमा कारमा घुमिरहेको अवस्थामा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
उनीहरुले बाहिर निस्कनुपर्ने ठोस कारण बताउन नसकेपनि उनीहरुको कागजात हेरेर छोडिदिएका थिए । अहिले भने प्रहरीले सबै कुराको जाँच गरेपछि दुवैका विरुद्ध एफआइआर दर्ता गराएको हो ।
मुम्बई प्रहरीका अनुसार दुवैविरुद्ध धारा १८८ अनुसार उजुरी दर्ता गरिएको छ । अहिले यो मामलामा दिशा र टाइगरलाई पक्राउ गरिएको छैन । किनकी यो जमानती अपराधको श्रेणीमा पर्दछ ।
महाराष्ट्रमा जून १५सम्म कोरोना लकडाउन छ र बिहान ७ बजेदेखि दिउँसो २ बजेसम्म बाहिर निस्कन छुट छ ।
जिमको काम सकिएपछि दिशा र टाइगर यात्रामा निस्किएका थिए । टाइगर पछाडि बसेका थिए भने दिशा अगाडि थिइन् । प्रहरीले दुवैको आधार कार्ड जाँच गरेको थियो र दोस्रो औपचारिकता पुरा गरेको थियो ।