गण्डकी । राष्ट्रिय जनमोर्चा (राजमो) गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापालाई पार्टीले पदमुक्त गरेको छ । बिहीबार जनमोर्चाको गण्डकी प्रदेश संसदीय दलले उनलाई पदमुक्त गर्न प्रदेशसभा सचिवालयलाई पत्राचार गरेको छ ।
राजमोका केन्द्रीय महासचिव मनोज भट्ट र राजमोकी दलको नेता पियारी थापाले पार्टीको निर्णय उल्लंघन गरेको भन्दै थापाको प्रदेशसभा सदस्य पद खारेजीका सचिवालयमा पत्र बुझाएका हुन् ।
आजै बस्ने प्रदेशसभाको बैठकमा सभामुखले उक्त पत्र पढेर सुनाएसँगै उनी पदमुक्त हुनेछन् ।राजमोले यसअघि थापालाई आजीवन केन्द्रीय सदस्य हुन नपाउने र एक वर्षका लागि पार्टी सदस्यबाट निलम्बन गरेको थियो ।
दलको निर्देशन उल्लंघन गरी थापा विपक्षी गठबन्धनका तर्फबाट गण्डकी प्रदेश सरकारविरुद्ध ल्याएको अविश्वासको प्रस्तावको विपक्षीमा उभिएका थिए । थापाले अविश्वासको प्रस्तावमा हस्ताक्षर नगरेपछि गण्डकीमा एमालेको सरकार जोगिएको थियो ।
अविश्वासको प्रस्तावमाथि मतदान हुने अघिल्लो दिनमै पृथ्वीसुब्बा गुरुङले मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए ।
तर थापाले अविश्वासको प्रस्तावमा हस्ताक्षर नगरेपछि बहुमत नपुग्दा प्रदेश प्रमुख सीता पौडेलले संसद्मा सहभागी सबैभन्दा ठूलो दलको हैसियतले एमालेका दलका नेता गुरुङलाई पुनः मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन् ।