गद्दी छाडेपछि पूर्वराजाको पहिलो सन्देश : महामारी रोक्न हाम्रो आफ्नै संकल्प चाहिन्छ
  • CIA Khabar

  • काठमाडौँ।  पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना महामारी नियन्त्रणका लागि सबैको संकल्प आवश्यक पर्ने बताएका छन् ।

    कोरोना संक्रमणमुक्त भएर निवासमा स्वास्थ्यलाभ गरिरहेका पूर्वराजा ज्ञानेन्द्रले पत्नी कोमललाई छेउमै राखेर बिहीबार भिडियो सन्देश जारी गर्दै कोरोना महामारी नियन्त्रणका लागि आफ्नै संकल्प आवश्यक पर्ने बताएका हुन् ।

    ‘कोरोना महामारी फैलिइरहेका बेला यसलाई नियन्त्रण गर्न हाम्रो आफ्नै संकल्प र बाह्य सहयोगको आवश्यक पर्दछ,’ उनले भनेका छन्, ‘प्राप्त अन्तर्राष्ट्रिय सहयोगका लागि हामी धन्यवाद दिन चाहन्छौँ ।’

    पूर्वराजा शाहले गद्दी छाडेपछि केही टेलिभिजनमा अन्तर्वार्ता दिए पनि यसरी भिडियो सन्देश जारी गरेको यो सम्भवतः पहिलो हो । आफूहरू दुवै जना पूर्ण स्वास्थ्यलाभका क्रममा रहेको बताउँदै उनले देशभित्र र बाहिरको कोरोना महामारीको अवस्थाप्रति चिन्तित रहेको बताएका छन् ।

    शाहले आफूहरूको स्वास्थ्यबारे चिन्ता र चासोका साथ शुभकामना दिने देशभित्र र बाहिर रहेका सबै नेपालीप्रति आभार प्रकट पनि गरेका छन् । उनले कोरोना महामारीमा दिनरात मानवीय कार्य गर्ने, अग्रपङ्तिमा रहेका स्वास्थ्यकर्मी,  सुरक्षाकर्मी, सफाइकर्मीहरूलाई धन्यवाद पनि दिएका छन् ।

    पूर्वराजा ज्ञानेन्द्रले सबलाई सुरक्षित भएर स्वस्थ रहन पनि आग्रह गरेका छन् । ‘म तपाईंहरू सबैलाई सुरक्षित, सावधान र स्वस्थ रहन आग्रह गर्दछु,’ उनले भनेका छन् ।

    पूर्वराजा ज्ञानेन्द्रले उपचारका क्रममा रहेका सबै नेपालीको स्वास्थ्यलाभको कामना पनि गरेका छन् ।

    ‘उपचारमा रहनुभएका सबै नेपालीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ । त्योसँगै महामारीमा जीवन गुमाउनेहरूको आत्माको चिरशान्तिको कामना गर्दछौँ । श्री पशुपतिनाथले ती सबै परिवारमा धर्य धारणका लागि शक्ति प्रदान गरुन,’ भिडियो सन्देशमा उनले भनेका छन् ।

  • २० जेष्ठ २०७८, बिहीबार १४:१४ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images