भेरीमा नर्समाथिको आक्रमणबारे छानविन समितिको निष्कर्ष: आफन्तको मृत्युको आवेगमा भएको फौजदारी अपराध
  • CIA Khabar

  • बाँके । को नेपालगञ्जस्थित भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणबारे छानविन गर्न गठित समितिले कोभिड संक्रमित आफन्तको मृत्युको आवेगमा घटना भएपनि फौजदारी प्रकृतिको अपराध भएकाले मुद्दा चलाउन सिफारिस गरेको छ ।

    छानविन समितिले अस्पताल प्रशासन र व्यवस्थापनमा समेत त्रुटि भएको औल्याउँदै २५ बुँदे सुझाव दिएको छ । छानविन समितिले कोभिड वार्डमा रहेका प्रत्यक्षदर्शी बिरामी, सुरक्षागार्ड, कुरुवा, स्वास्थ्यकर्मी र सीसीटीभीबाट घटनाको अध्ययन गरेको सदस्य कृष्णप्रसाद श्रेष्ठले बताए।

    ‘सबैका कुरा सुन्दा र सीसीटीभी फुटेज हेर्दा आक्रमणमा परेका स्वास्थ्यकर्मीले भनेजस्तो घटना सुनियोजित देखिएन । घटनामा ४ जना मात्र संलग्न देखिए,’ उनले भने, ‘घटना आफन्तको मृत्युको आवेगमै घटेको देखिन्छ । जे जसरी भए पनि फौजदारी अपराध भएकाले कारबाहीका लागि मुद्दा चलाउन सिफारिस गरेका छौँ ।

    छानविन समितिले अस्पतालको वार्डमा भएको घटना रोक्न त्यहाँ तत्कालै सुरक्षागार्ड वा सुरक्षाकर्मी नपुगेको र स्वास्थ्यकर्मीले पनि पर्याप्त परामर्श नदिएको औंल्याएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी शिवलाल गेलालले स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने काम फौजदारी अपराध भएकाले मुद्दा अघि बढिसकेको बताए ।

    उनले स्वास्थ्यकर्मीले सुरक्षित ढंगले काम गर्ने वातावरण निर्माण गर्न प्रशासन र व्यवस्थापनलाई समेत समितिले सुझाव दिएकोमा ती कार्यान्वयन गराउने बताएका छन् । ‘समितिले दिएका सुझाव अध्ययन गरी सम्बद्ध पक्षलाई जानकारी गराएका छौँ । हामीले अस्पताल व्यवस्थापनसँग बैठक पनि बसिसक्यौँ । अव सुझावका आधारमा सुधार गर्न निरन्तर फलोअप गर्छौं,’ उनले भने ।

    भेरी अस्पतालमा भएको आक्रमणका दोषीमाथि कारबाही अघि बढे पनि स्वास्थ्यकर्मीले विरोध कार्यक्रमलाई निरन्तरता दिएका छन् । उनीहरूले स्वास्थ्यकर्मी सुरक्षासम्बन्धी ऐनमा सुधारको माग गरेका छन् । छानविन समितिले पनि उक्त ऐन संशोधनका लागि सुझाव दिएको छ। उक्त सुझाव सम्बद्ध निकायमा पठाइएको प्रजिअ गेलालले बताए ।

    गत १३ जेठमा दाङ तुलसीपुरका कोरोना संक्रमित ५१ वर्षीय  डिल्लीबहादुर रावतको उपचारका क्रममा मृत्यु भएपछि मृतकका आफन्तले स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका थिए । घटनामा संलग्न रहेका मृतकका भाइहरू मानबहादुर रावत, भरत रावत तथा छोरा लोकराज रावतविरुद्ध जिल्ला प्रहरी कार्यालय बाँकेमा ज्यान मार्ने तथा शारिरीक उपद्रव कसुरमा मुद्दा दर्ता भइसकेको छ ।

    आक्रमणबाट जोगिन अस्पतालका डाक्टर र नर्सहरू सुरुमा भित्री कोठामा लुकेका थिए । तोडफोड गरी आक्रमणकारी त्यहाँ पनि पुगेपछि भवनको एक तलामाथि झ्यालबाट हाम फालेका थिए । भुइँमा निर्माण गर्न थुपारिएको बालुवा राखिएकाले हामफालेका कसैलाई ठूलो क्षति हुन पाएन । देशभरीमै सबैभन्दा धेरै संक्रमितको उपचार गरेको भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि नै आक्रमण भएपछि चर्को विरोध भएको थियो।

    स्वास्थ्यकर्मीहरू विरोधमा उत्रिएपछि बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी शंकर विष्टको संयोजकत्वमा छानविन समिति गठन गरिएको थियो । समितिमा भेरी अस्पताल विकास समितिका सदस्यद्वय कृष्णप्रसाद श्रेष्ठ र धनीराम ओली, नेपाल चिकित्सक संघ भेरीका अध्यक्ष डा. विनोद कर्ण, नेपाल नर्सिङ संघ बाँकेकी अध्यक्ष लक्ष्मी केसी, नेपालगञ्ज मेडिकल कलेजका उपनिर्देशक डा. रोमन किदवाई र जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी सुभाष खड्का सदस्य थिए ।

  • २० जेष्ठ २०७८, बिहीबार १७:१२ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images