काठमाडौं । खानीखोला हाइड्रोपावर कम्पनीलाई नेपाल स्टक एक्स्चेन्ज (नेप्से)ले कारबाही गरेको छ । कम्पनीले लामो समयदेखि आफ्नो वित्तीय विवरण नबुझाएको भन्दै नेप्सेले कारबाही अगाडि बढाएको हो ।
‘धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२ को १ (क) मा भएको व्यवस्थाबमोजिम नेप्सेमा सूचीकृत कम्पनीहरूले आफ्नो वित्तिय विवरण अनिवार्य रुपम पेश गर्नु पर्ने व्यवस्था छ ।
पटक-पटक नेप्सेले वित्तीय विवरण बुझाउन दिएको निर्देशनलाई अटेरी गरेको भन्दै सोही व्यवस्थाअनुसार कारबाही अगाडि बढाएको हो ।
‘धितोपत्र सूचीकरण, २०७५ को विनियम १६ को १ (घ) मा भएको व्यवस्थाबमोजिम कम्पनीको धितोपत्रको दोस्रो बजार कारोबार २० जेठकोनिर्णयानुसार रोक्का राखिएको हो’ नेप्सेले जारी गरेको सूचनमा उल्लेख गरेको छ ।
कहिले खुल्छ ?
अब खानीखोला हाइड्रोले आफ्नो सम्पूर्ण वित्तीय विवरण पेस नगर्दासम्मका लागि दोस्रो बजारमा लगानीकर्ताले उक्त कम्पनीको शेयर किनबेच तथा कारोबार गर्न पाउने छैनन् । यदि कम्पनीले वित्तीय विवरण पेस गरेको खण्डमा भने कारोबार खुला हुने व्यवस्था छ ।
योसँगै नेप्सेले वित्तीय विवरण पेस गर्न अटेर गर्ने कम्पनीहरूलाई धमाधम कारबाही गर्न सुरु गरेको छ । केही दिनअघि मात्रै शेयरबजार सूधार समितिका लगानीकर्ताहरूले खानीखोला हाइड्रोसहित जोशी हाइड्रो पावर र हिमाल दोलखा पावर कम्पनी कम्पनीले वित्तीय विवरण सार्वजनिक नगरेको भन्दै धितोपत्र वोर्डमा काराबाहीका लागि अपिल गरेका थिए । त्यसलगत्तै धितोपत्र बोर्डको निर्देशनमा नेप्सेले त्यस्ता कम्पनीहरूमाथि कारबाही सुरु गरेको हो ।