काठमाडौं । दया फाउण्डेशनले कोरोना संक्रमितको उपचार गरिरहेका विभिन्न सामुदायिक तथा सरकारी अस्पतालहरूलाई विभिन्न चिकित्सा उपकरणहरू प्रदान गरेको छ ।
फाउण्डेशनले टेकु अस्पताल, वीर अस्पताल, ट्रमा सेण्टर, क्षेत्रपाटी निःशुल्क चिकित्सालय, भक्तपुर क्यान्सर अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल, नेपाल एम्बुलेन्स सर्भिस र आनन्द कुटी आइसोलेसन सेन्टरमा हालसम्म ६ थान हाई फ्लो नेशल क्यानुला, ५ थान ५ लिटरको अक्सिजन कन्सन्ट्रेटर, १० थान १० लिटरको अक्सिजन कन्सन्ट्रेटर, १५ थान थर्मल गन, १५ थान अक्सिमिटर साथै १००० थान सुरक्षा किट (पीपीई, फेससिल्ड, सेनिटाइजर, मास्क, पञ्जा) प्रदान गरेको हो ।
दया फाउण्डेशनका अध्यक्ष राजेश प्रधानले कोभिड–१९ को कारणले सिङ्गो राष्ट्र स्वास्थ्य सङ्कटमा परेको यस विषम घडीमा आफ्नो संस्था सक्रिय रूपमा अघि बढ्न थोरै नै भएपनि सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरे । उनले संस्थाले सहयोग गरेका अस्पतालहरू विशेषत निम्न आय वर्ग भएकाका व्यक्तिको उपचारका लागि लक्षित भएकाले सहयोगले विपन्न वर्गको कोभिड–१९ को उपचारमा टेवा पुर्याउने बताए ।
फाउण्डेशनले कोभिड सम्बन्धी कार्यक्रमहरूको समन्वय तथा संयोजन गर्दै आएका संस्थाका पूर्वअध्यक्ष किपा माथेमाका अनुसार फाउण्डेशनले विविध स्वास्थ्य उपकरणहरू उपलब्ध गराउने मात्र नभई संक्रमितको उपचारमा संलग्न रहँदै आएका जनशक्तिको क्षमता अभिवृद्धिका लागि पनि विभिन्न तालिमहरूका लागी आयोजना गरिने बताए ।
फाउण्डेशनले क्रिटिकल केयर नर्सिङ्ग संघ नेपाल र नेपाल क्रिटिकल केयर विकास फाउण्डेशनसँगको सहकार्यमा क्रिटिकल केयर नर्सिङ्ग सम्बन्धी भर्चुअल प्रशिक्षण कार्यक्रम सञ्चालन गरिरहेको छ भने कोरोना संक्रमितको उपचारका क्रममा आवश्यक विशेष सिप नर्सहरूलाई उपलब्ध गराउने उद्देश्यले ९ जेठदेखि सुरु गरिएको प्रशिक्षण २१ जेठसम्म जारी रहनेछ ।
दया फाउण्डेशन समाजसेवी स्वर्गीय दयाराम भक्त माथेमाको स्मृतिमा उनका परिवारले ट्रस्टका रूपमा समाजसेवाका लागि सन् २००९ मा स्थापित संस्था हो । कोरोना महामारीको पहिलो लहरमा उल्लेख्य स्वास्थ्य सेवा उपलब्ध गराएबापत टेकु अस्पताल, वीर अस्पताल, कान्ति बाल अस्पताल तथा क्षेत्रपाटी निःशुल्क चिकित्सालयको कोभिड नर्सिङ्ग युनिटलाई दया फाउण्डेशनले ‘एक्सलेन्स अवार्ड’बाट सम्मानित गरिसकेको छ ।