काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री आनन्द पोखरेलले चिनियाँ कम्युनिष्ट पार्टी र नेकपा एमालेबीचको सम्बन्धलाई प्रान्तीय तहसम्म विस्तार गर्न प्रस्ताव राख्नुभएको छ । चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागले दक्षिण एशिया र दक्षिणपूर्वी एशियाका मुख्य राजनीतिक दलका युवा नेताहरूसँग बिहीबार गरेको वेभिनार बैठकमा पोखरेलले दुई पार्टीबीचको सम्बन्धलाई केन्द्रबाट तलसम्म विस्तार गर्नुपर्ने बताउनुभयो ।
एमाले वागमती प्रदेश कमिटी अध्यक्ष पोखरेलले भन्नुभयो, ‘नेपालको कम्युनिष्ट गतिविधिको अनुभवबाट सिकेका, सीपीसी र नेकपा एमालेले नेपालको विकास आन्दोलन र वैचारिक मित्रताको सुदृढीकरणका लागि एकसाथ काम गर्नुपर्दछ। साझेदारीले केन्द्रीय तहभन्दा पर जानुपर्दछ र यसलाई प्रान्तीय तहसम्म विस्तार गर्नुपर्दछ।’
पाकिस्तान, मलेसिया, श्रीलंका र नेपालको युवा नेताहरूसँग सीपीसीले महामारीको बेला युवा उद्यमशीलता र व्यवसायिक विकासको बारेमा छलफल आयोजना गरेको हो । छलफलमा एमालेका विभिन्न तहका ७२ जना युवा नेताहरू सहभागी रहनुभएको थियो । चीनले महामारीविरुद्ध लड्न नेपाललाई दिएको साथको प्रशंसा गर्दै उहाँले युवा उद्यमशीलता बढाउन एमाले नेतृत्वको सरकारले यस वर्ष बजेटमा राम्रो कार्यक्रम ल्याएको सुनाउनुभयो ।