माधव समूहको बटमलाइन: ओलीले आत्मालोचना गरे एकता सम्भव
  • CIA Khabar

  • काठमाडौं । नेकपा एमालेको खनाल नेपाल समूहले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेको संसद विघटनप्रति आत्मालोचना गरे मात्रै सहकार्य हुनसक्ने निष्कर्ष निकालेको छ । साथै सो समूहले संसद विघटनविरुद्धको संघर्षलाई जारी राख्ने भएको छ ।

    बिहीबार खनाल–नेपाल समूहका केन्द्रीय सदस्यहरुको भर्चुअल भेलामा सहभागी अधिकांश नेताहरुले ओलीको संसद विघटन गर्ने कदम प्रतिगामी भएको ठहर गर्दै उनीसँगको सहकार्य लगभग अन्त्य भएको धारण राखेका थिए ।
    ‘ओली एकपछि अर्को गर्दै प्रतिगमनतिरै जानुभएको छ ।

    त्यसैले उहाँले आत्मालोचना गरेर जेठ २ को पार्टी कमिटी क्रियाशील गर्न प्रतिबद्धता जनाए मात्रै सहकार्य सम्भव छ भन्ने नै निष्कर्ष निस्कियो’, सो समूहका नेता युवराज ज्ञवालीले भने, ‘यदि ओली त्यसो गर्न तयार हुँदैनन् भने नयाँ पार्टी पुनर्गठन गर्नुको विकल्प छैन भन्नेमा नेताहरु एकमत हुनुभयो ।’

    त्यस्तै उनले त्यसका लागि धेरै समय कुर्न नसकिनेमा समेत नेताहरु पुगेको बताए । ‘अब धेरै समय कुर्न सकिँदैन । तत्काल ओली त्यस्तो प्रतिबद्धता जनाउन तयार भए हामी एकताबाट पछि हट्दैनौ’ बैठकमा सहभागीहरुले राखेको धारणा र निष्कर्षका रुपमा नेता माधव नेपालले गरेको सम्बोधनलाई उदृत गर्दै ज्ञवालीले भने, ‘त्यो नभए क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माण गर्ने र सिंगो नेपालको कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्ने हिसाबले अघि बढ्नुपर्छ ।’

    भेलामा सहभागी नेताहरुले संसद विघटन प्रतिगमन भएको भन्दै ओलीले संविधान र लोकतन्त्रमाथि बारम्बार प्रहार गरेर मुलुकलाई उल्टो दिशातर्फ फर्काउन खोजिएकाले उनीसँगको सहकार्यबाट कम्युनिस्ट आन्दोलन अघि बढ्न नसक्ने बताएका थिए ।

    बैठकमा ओेली समूहका नेताहरुसँग अनौपचारिक वार्ता गरिरहेका नेताहरु सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र योगेश भट्टराईले नेता नेपालसँग सल्लाह गरेर नै अनौपचारिक वार्ता गरेको ब्रिफिङ गरेका थिए । चार नेताको ब्रिफिङ सुनेपछि नेता नेपालले अनौपचारिक कुराकानीलाई अन्यथा मान्न नहुने बताएका थिए । तर वार्ता समितिको संयोजकलाई नै कारवाही गरेकाले यो वार्तालाई औपचारिक भन्न नमिल्ने बताएका थिए ।

    ‘अनौपचारिक वार्ता गर्न पाइन्छ । हामी एकताकै पक्षमा छौं तर अब वार्ताका नाममा धेरै पर्खन भने सकिँदैन’, नेता नेपालले छलफलको अन्तिममा भनेका थिए । त्यस्तै उनले आफ्नो तयारी पनि गर्दै जानुपर्ने भएकाले सोही अनुसार तयार हुन नेताहरुलाई निर्देशन दिएका थिए ।

  • २० जेष्ठ २०७८, बिहीबार २१:१६ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images