चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व सांसद विष्णुलाल तामाङ (एल वाइबा) को निधनप्रति दुःख व्यक्त गरेका छन् । उच्च रक्तचाप र मधुमेहबाट पीडित कमरेड वाइबाको उपचारको क्रममा झापाको दमकस्थित आम्दा अस्पतालमा यही जेष्ठ २० गते साँझ ६ बजेर २० मिनेट जाँदा निधन भएको हो ।
‘वाइबाको निधनले नेपाली राजनीतिले सच्चा राष्ट्रवादी अग्रगामी नेता गुमाएको प्रचण्डले बताए । कम्युनिष्ट आन्दोलनले आफ्नो अभिभावक गुमाएको छ । सादा जीवन, सरल र जुझारु कमरेड वाइबा किसान र मजदूरबीच लोकप्रिय हुनुहुन्थ्यो,’ प्रचण्डले सम्झेका छन् ।
वाइबाका जीवनपयोगी भोगाइ परिवर्तनकारी एवं क्रान्तिकारी युवाहरुका लागि प्रेरणाको स्रोत बन्ने विश्वास लिँदै उनप्रति प्रचण्डले श्रद्धा सुमन प्रकट गरेका छन् ।
स्थानीय सामन्तविरुद्धको तमसुक फट्टा आन्दोलनबाट आफ्नो संघर्ष यात्रा शुरु गरे तामाङ २०४४ सालमा भारतको दरभंगामा भएको राष्ट्रिय सम्मेलनबाट तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (चौ.म.)को केन्द्रीय सदस्य भएका थिए ।
२०४८ सालको आम निर्वाचनमा सिराहाको तत्कालीन निर्वाचन क्षेत्र नं. ५ बाट उनी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । वाइबा २०७० सालमा नेकपा तदर्थ र एकीकृत नेकपा (माओवादी) बीचको एकीकरणपछि केन्द्रीय सदस्य हुँदै माओवादी केन्द्रको पोलिटब्यूरो सदस्य रहेका थिए । उनका तीन छोरा र दुई छोरी रहेका छन् ।