प्रदीप ज्ञवाली भन्छन्, ‘सवा तीन वर्ष मन्त्री हुँदा मैले घरमा केही सामान जोडेँ, दुई सय थान पुस्तक किनेँ’
  • CIA Khabar

  • काठमाडौँ। निवर्तमान परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आफ्नो सम्पत्तिबारे संक्षिप्त विवरण सार्वजनिक गरेका छन् । सवा तीन वर्ष मन्त्री भई हिजो बिदा भएका ज्ञवालीले फेसबुक र ट्विटरमार्फत यस्तो विवरण सार्वजनिक गरेका हुन् ।

    परराष्ट्र मन्त्रालय छिरेदेखि यहाँबाट बाहिरिँदासम्मको अवधिमा आफ्नो सम्पत्तिमा फेरबदल नआएको उनको दाबी छ । मन्त्री हुँदा पाएको भत्ता र पारिश्रमिकले घरका केही समान र दुई सय थानजति पुस्तक जोडेको उनले उल्लेख गरेका छन् ।

    सत्तारुढ एमालेका प्रवक्तासमेत रहेका ज्ञवालीले आफू मन्त्री हुँदा विदेश भ्रमणबापतकाे ३ लाख १४ हजार ९३० रुपैयाँ र पारिश्रमिकबापतकाे ६ लाख २० हजार रुपैयाँ लेभी गरी ९ लाख ३४ हजार ९३० रुपैयाँ पार्टी खातामा जम्मा गरेको जनाएका छन् ।

    उनका अनुसार पारिश्रमिकको कर कट्टीबापत ३ लाख ७२ हजार ४९१ सरकारी कोषमा दाखिला भएको छ । ‘हाल मेरो खातामा ७ लाख ४१ हजार ७७५ रुपैयाँ ६० पैसा बचत रहेको र केही घरायसी सामान एवं दुई सयजति पुस्तक थपिनुबाहेक मन्त्री बनेलगत्तै सार्वजनिक मेरो सम्पत्ति विवरणमा कुनै फेरबदल नभएको जानकारी गराउँछु’, उनले लेखेका छन् ।

    मन्त्रीको हैसियतमा आफूले प्रयोग गर्दै आएका सवारी साधन र ल्यापटप उनले हिजै फिर्ता गरेको उल्लेख गरेका छन् । साथै पुलचोकस्थित सरकारी निवास उनले आज छाड्ने जनाएका छन् ।

    मन्त्रिपरिषद् पुनर्गठन गर्दै प्रधानमन्त्री केपी ओलीले हिजाे रघुवीर महासेठलाई परराष्ट्रमन्त्री बनाएका छन् । जिम्मेवारीमुक्त भएलगत्तै मन्त्री ज्ञवालीले सम्पत्तिबारे विवरण सार्वजनिक गरेका हुन् ।

    हेर्नुहोस् उनले सार्वजनिक गरेको विवरणः

  • २२ जेष्ठ २०७८, शनिबार १०:५० प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images