टीकापुर ।टीकापुर अस्पतालमा कोरोना सङ्क्रमित महिलालाई प्रसूति सेवा दिइएको छ । सुत्केरी व्यथा लागेर अस्पताल आएकी एक महिलालाई अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीले सुरक्षित तवरले सेवा दिएका हुन् ।
दश दिनअघि अस्पतालमा बच्चा जन्माएकी महिलाको शिशुमा समेत स्वास्थ्य समस्या देखिएको थियो तर बच्चाको कोरोना परीक्षण गर्दा सङ्क्रमण थिएन । टीकापुर अस्पतालमा कोरोना सङ्क्रमितलाई सुत्केरी सेवा दिन छुट्टै प्रसूति कक्ष तयार छैन ।
तर महिलालाई व्यथा लागेर आएकाले अस्पतालले छुट्टै राखेर सेवा दिएको कोरोना फोकल पर्सन डा. रमेश उपाध्याय बताउँछन् । ‘अस्पतालमा सङ्क्रमित महिलालाई प्रसूति सेवा दिनका लागि बेग्लै कक्ष छैन । यस्तो समस्या पनि आएको थिएन । ती महिला चाहिँ सङ्क्रमित हुनुहुदो रहेछ । व्यथा लागिसकेको थियो,’ उपाध्यायले भने, ‘उहाँ बाहिर जाने अवस्था पनि थिएन । सुरक्षित तवरले उहाँलाई छुट्टै राखेर सेवा दियौँ । अस्पतालको टिम उहाँ र उहाँको बच्चा कसरी जोगाउने भन्नेमा केन्द्रीत रह्यो ।
सुत्केरीपछि बच्चामा स्वास्थ्य समस्या देखिएको थियो । बच्चा जन्मेको केही समयमा श्वासप्रश्वास र मुटुको गतीमा समस्या भएपछि चिकित्सकले कृत्रिम श्वासप्रश्वास दिइ उपचार गरेको थियो । जटिल अवस्था र आइसियु आवश्यक परेको बच्चालाई अस्पतालका बालरोग विशेषज्ञ डा. अमरनाथ ठाकुर लगायतको टिमले बचाउन सफल भएका छन् ।
‘बच्चा जन्मेको केही समयमा बच्चाको श्वासप्रश्वास र मुटुको गती नचलेपछि हामीले कृत्रिम श्वासप्रश्वास दियौँ । अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीको टिम बच्चा कसरी जोगाउने भन्ने प्रयासमा रह्यौँ,’ ठाकुर भन्छन्, ‘बच्चालाई आइसीयू आवश्यक थियो । हामीकहाँ आइसीयू तथा भेण्टिलेटर नभएकाले बच्चा बाहिर लैजानु आवश्यक थियो । बच्चाका आफन्तले लैजान नसक्ने भनेपछि हामीले सक्दो प्रयास गर्यौँ । ४ घण्टापछि बच्चाले सास फेर्यो ।
बच्चा स्वस्थ भएपछि जीवनको सबैभन्दा ठूलो खुसी प्राप्त भएको उनले बताए । करिब एक साता अस्पतालमा उपचारपछि आमा र बच्चा स्वस्थ भएर डिस्चार्ज भएका छन् ।