ठाकुर पक्षलाई प्रदेश सरकारबाट हटाइँदै: कांग्रेसले माग्यो मुख्यमन्त्री
  • CIA Khabar

  • काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर पक्षको संघीय सरकारमा सहभागिताको प्रत्यक्ष असर प्रदेश २ सरकारमा पर्ने देखिएको छ । जसपाका अर्का अध्यक्ष उपेन्द्र यादव पक्ष पूर्वराजपा धारका मन्त्रीलाई हटाएर तत्काल प्रदेश सरकार पुनर्गठन गर्ने तयारीमा रहेको उनीनिकट स्रोतले जनाएको छ ।

    प्राविधिक रूपमा एक भए पनि व्यावहारिक रूपमा पार्टी विभाजन भइसकेकाले यादव पक्षले प्रदेश सरकारमा पूर्वराजपाका मन्त्रीहरूलाई हटाएर केन्द्रको विपक्षी गठबन्धन सम्मिलित सरकार बनाउन चाहेका छन् । मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा रहेका यादवले शुक्रबार कांग्रेस उपसभापति विमलेन्द्र निधिलाई भेटेर मन्त्रीका लागि नाम दिन आग्रह गरेका थिए । तर, निधिले कांग्रेसलाई मुख्यमन्त्री दिएर केन्द्रकै विपक्षी गठबन्धन सम्मिलित सरकार बनाउन प्रस्ताव राखेका छन् ।

    यादवले केही दिनअघि कांग्रेस सभापति शेरबहादुर देउवालाई पनि भेटेर यस विषयमा कुरा गरेका थिए । देउवाले प्रदेश २ सरकारका विषयमा निधिसँग कुरा गर्न लगाएपछि यादवले निधिलाई भेटेका हुन् । ‘उपेन्द्रजीले केन्द्रकै गठबन्धन कायम राख्ने गरी प्रदेश २ को सत्ता समीकरण बदल्न खोज्नुभएको छ । त्यसका लागि मन्त्रीका नाम माग्नु भयो, निधिजीले पनि केन्द्रकै गठबन्धन कायम गर्ने गरी कांग्रेसलाई मुख्यमन्त्री दिन प्रस्ताव गर्नुभयो, दुई नेताबीच यसमा कुरा मिलेन,’ स्रोतले भन्यो । स्रोतका अनुसार यादव आफू जनकपुर जान लागेकाले फर्केपछि फेरि कुरा गर्ने भन्दै निस्किएका थिए ।

    भेटलगत्तै यादवले कान्तिपुरलाई निधिसँग भेट भए पनि तत्काल सत्ता समीकरण फेरबदल गर्ने विषयमा कुराकानी नभएको दाबी गरे । ‘सरकारको मात्रै होइन, अरू धेरै विषयमा कुराकानी भएका छन् । तर अहिल्यै हामी सत्ता समीकरण बदल्ने विषयमा पुगिसकेका छैनौं,’ उनले भने ।

    प्रदेश २ सभामा १ सय ४ सांसद छन् । जसमा जसपा अध्यक्ष यादव पक्षमा ३२ र पूर्वराजपा पक्षमा २३ सांसद छन् । एमालेका २१, कांग्रेसका १९ र माओवादी केन्द्रका ८ सांसद छन् । यो प्रदेशमा एमालेका २१ मध्ये खनाल–नेपाल समूहमा बहुमत सांसद छन् । कांग्रेस र माओवादी केन्द्रको समर्थन रहने र अर्को सरकार बनिहाल्ने सम्भावना नभएकाले यादव प्रदेश सरकार पुनर्गठन गर्ने निर्णयमा पुगेका हुन् । ‘केन्द्रमा एउटा पक्ष सरकारमा गएपछि प्रदेशमा त्यसको प्रभाव पक्कै पर्छ,’ यादवनिकट नेता डम्बर खतिवडाले भने, ‘कसरी प्रभाव पर्छ भन्नेबारे अहिले भन्न सकिन्न ।’

    मन्त्री भएका सबै निष्कासन हुने

    केपी शर्मा ओली नेतृत्वको सरकारका सहभागी हुने जसपाका नेतालाई यादव पक्षले निष्कासन गर्ने भएको छ । यादवको अध्यक्षतामा जेठ ८ मा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले ओली नेतृत्वको सरकारमा सहभागी हुनेलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको थियो । नेता खतिवडाले केन्द्रीय कार्यकारिणी समितिको बैठक बसेर मन्त्री भएका सबैलाई पार्टीबाट निष्कासन गरिने बताए । ओली नेतृत्वको सरकारमा सहभागीमध्ये पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो र नेता लक्ष्मणलाल कर्णलाई यसअघि नै निष्कासन गरिएको थियो ।

    मन्त्रीहरू शरतसिंह भण्डारी, अनिल झा, विमल श्रीवास्तव, उमाशंकर अरगरिया, चन्दा चौधरी, एकवाल मियाँ, राज्यमन्त्रीहरू चन्द्रकान्त चौधरी र रेणुका गुरुङलाई पार्टीबाट निष्कासन गरिने भएको हो । उपप्रधानसहित सहरी विकासमन्त्री भएका महतोले त्यस्तो कारबाहीको कुनै अर्थ नहुने बताए । ‘कुनै बेलाको बहुमत देखाएर हुने कारबाहीको कुनै अर्थ छैन । यो कागजी बहुमत मात्रै हो । असली बहुमत हामीसँग छ,’ महतोले कान्तिपुरसँग भने, ‘६०र७० प्रतिशत कार्यकर्ता हाम्रै पक्षमा छन् ।’ उनले तराई–मधेसका माग मुद्दा सम्बोधन भएकाले सरकारमा गएको बताए । ‘सरकारमा गए पनि हाम्रो ध्यान मुद्दामाथि नै केन्द्रित हुनेछ, बाँकी रहेका मुद्दाको काम अघि बढाउँछौं,’ महतोले भने ।

    छलफल चलाउँदै राउत

    जसपा विभाजनले आफू अल्पमत पर्ने भएपछि मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ सरकारमा कांग्रेसलाई सरकारमा सहभागी गराउन छलफल अघि बढाएका छन् । जसपाले सरकारमा सहभागी हुन आग्रह गरेपछि कांग्रेसका प्रदेश सांसदको शुक्रबार जनकपुरमा बैठक बसेको छ । कांग्रेसका एक प्रदेश सांसदले भने, ‘जसपा विभाजन नभएसम्म सरकारमा कसरी जाने रु जसपा एउटै दल रहेको अवस्थामा कसरी सरकारलाई सहयोग गर्ने रु केन्द्रबाट पार्टीले दिएको निर्देशनअनुसार मात्र कांग्रेस सरकारमा जानेरनजाने टुंगो लाग्छ ।’

    अध्यक्ष उपेन्द्र यादव पक्षीय राउत नेतृत्वको सरकारले ल्याउने प्रदेशको नीति तथा कार्यक्रम र बजेटलाई पारित हुनबाट जसपाको महन्थ ठाकुर समूहले रोक्ने जोखिम रहेको छ । त्यसैले राउतले आफू सुरक्षित रहन कांग्रेस र माओवादी केन्द्रको साथ खोजिरहेका छन् । ठाकुर समूहले पनि कांग्रेसलाई प्रदेश २ मा सरकार बनाउन सहयोग मागेको छ ।

    जसपाभित्रको पूर्वसमाजवादी धारसँग प्रदेशसभामा सर्वाधिक सांसद छन् । उक्त समूह एमालेको ओली समूहसित मिलेर नजाने निश्चित छ । एमाले पनि अघोषित रूपमा विभाजित छ । ठाकुर समूहको पहिलो रोजाइ कांग्रेसभन्दा एमाले ओली समूह हुने देखिएको छ । तर प्रदेशमा ओली समूहमा ८ जना सांसद मात्र छन् । एमाले संसदीय दलको नेतामा १३ सांसदको समर्थनसहित खनाल–नेपाल समूहका शत्रुघ्न महतो छन् । कान्तिपुरबाट

  • २२ जेष्ठ २०७८, शनिबार १८:०९ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images