काठमाडौँ । नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिप्रति विरोध जनाएको छ ।
नेपाल आयल निगमले शनिबार मध्यरातिदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर दुईरदुई रुपैयाँले वृद्धि गरेको थियो । नेविसंघले सरकारलाई उक्त मुल्यवृद्धि तत्काल फिर्ता गर्न माग गरेको छ । नेविसंघ महामन्त्री बलदेव तिमल्सिना कोभिड १९ को आहतका बेला राहत दिनुपर्नेमा ओली सरकार जनताको चुलो बन्द गराउने बाटोमा लागिरहेको आरोप लगाउनुभयो ।
विज्ञप्तिमा भनिएको छ, ‘महामारीमा उपभोक्तालाई उपहार स्वरुप भ्रष्ट केपी सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि प्रति घोर भर्त्सना गर्दछु । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा शनिबार राति १२ बजेदेखि लागू हुने गरि पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनमा प्रतिलिटर दुई दुई रुपैयाँ मूल्यवृद्धि गर्दै पेट्रोल १२५, डिजल र मट्टितेल १०८ तथा हवाई इन्धन प्रतिलिटर ८० रूपैयाँ कायम भएबाट पुनःसबै क्षेत्रमा चर्को मुल्यबृद्धी हुने निश्चित छ ।’