सुदूरपश्चिम ।नेकपा (एमाले) सुदूरपश्चिम संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारी प्रदेशसभा सदस्य दुर्गाकुमारी बिकलाई दिइएको छ । आर्थिक मामिला तथा योजनामन्त्रीसमेत रहेका संसदीय दलका नेता प्रकाशबहादुर शाहले बिकलाई प्रमुख सचेतकको जिम्मेवारी दिएका हुन् ।
यसअघि संसदीय दलको प्रमुख सचेतकमा तारा लामा तामाङलाई हटाएर लालबहादुर खड्कालाई नियुक्त गरिएको थियो । खड्का सामाजिक विकासमन्त्री बनेपछि बिकलाई प्रमुख सचेतकको जिम्मेवारी दिइएको एमाले संसदीय दलले जनाएको छ ।
प्रदेशसभा सचिवालयका सचिव रामसिंह धामीले सम्पूर्ण सेवा सुविधा पाउने गरी बिकलाई प्रमुख सचेतकको जिम्मेवारी दिइएको जानकारी सचिवालयमा प्राप्त भएको बताए ।
एमाले संसदीय दलले प्रदेशसभा सदस्य तारा लामा तामाङलाई प्रदेश सभाको कार्य व्यवस्था परामर्श समितिको सदस्यबाट समेत हटाएको छ । हालै पार्टीको तत्कालीन प्रमुख सचेतकबाट जिम्मेवारीमुक्त गरिएका तामाङलाई कार्य व्यवस्था परामर्श समितिको सदस्यबाट हटाइएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
कार्य व्यवस्था परामर्श समितिबाट अर्चना गहतराजलाई पनि हटाइएको छ । गहतराज राज्यमन्त्रीमा नियुक्त भएका कारण उनको ठाउँमा प्रदेशसभा सदस्य अमरबहादुर साउदलाई ल्याइएको जनाइएको छ ।