फस्टाउँदै हुक्काको ट्रेन्ड, १० वर्ष अघि सरकारद्धारा जारी ऐन–भएन अझै कार्यान्वयन
  • CIA Khabar

  • काठमाडौं । आजकल सूर्ती चुरोटको सट्टामा हुक्काको ट्रेन्ड बढ्दो छ । सरकारद्धारा जारी ‘सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन ऐन २०६८’ ल्याएको १० वर्ष बितिसक्दा पनि अहिलेसम्म कार्यान्वयन नहुँदा समस्या भएको हो । अहिलेको युवापुस्ता हुक्काको लतमा लाग्दा झनै समस्या भएको चिकित्सकहरु बताउँछन् । फेसन र मनोरञ्जन बनेको हुक्का, चुरोटभन्दा पनि हानिकारक हुने डाक्टरहरु बताउँछन् । सरकारद्धारा जारी ऐनमा स्थानीय तहको कार्यकारी अधिकृतलाई सुर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमनको जिम्मा दिइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुर्ती नियन्त्रण तथा नियमन गर्नका लागि अहिलेसम्म कुनै अनुगमन गर्ने समिति समेत बनाएको पाइएको छैन ।

    ‘सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन ऐन २०६८’ मा सार्वजनिक स्थलमा कसैले धुम्रपान गर्न नपाइने, १८ वर्षमुनिका व्यक्तिले बेचविखन गर्न नपाउने, चुरोट बट्टामा मात्रै बिक्री वितरण गर्नुपर्ने, सार्वजनिक स्थलभन्दा १ सय मिटर टाढा मात्र सुर्तीजन्य पदार्थको बिक्री गर्नुपर्ने, सुर्तीजन्य पदार्थको सचेतनामुलक सूचना हरेक संस्थाले कार्यालयमा टाँस गर्नुपर्ने, एक व्यक्तिले सेवन गरेको सुर्तीजन्य पदार्थले कसैलाई असर गर्न नहुने लगायतका कुरा उल्लेख छ । सुर्तीजन्य पदार्थ सेवन गर्न नपाउने व्यहोराको सूचना सबैले देख्ने र पढ्न सक्ने गरी टाँस्नुपर्ने समेत ऐनमा उल्लेख छ । तर, अहिलेसम्म सबै सार्वजनिक स्थानमा जानकारीमुलक सूचना टाँसिएको छैन । धुम्रपान गर्नेलाई कुनै कारवाही गरेको पनि पाइएको छैन ।

    हुक्काको असर के ?

    चुरोटको सर्को कहिल्यै नतानेका आजकलका युवायुवतीले हुक्काको स्वाद लिइरहेका छन् । नियमित हुक्का प्रयोग गर्ने युवायुवतीको संख्या दिन प्रतिदिन बढ्दै छ । हुक्का सेवनअन्य सूर्तीजन्य पदार्थजस्तो हानिकारक होइन भन्ने गलत विश्वास र भ्रमका कारण बच्चादेखि युवायुवतीसम्मले यसको प्रयोग गर्दै आएका छन्, यसको दीर्घकालीन असर देखिने डा. विष्णुदत्त पौडेल बताउनुहुन्छ । उहाँका अनुसार हुक्कामा निकोटिन, तार, कार्बनमोनोअक्साइड, आर्से्निनक, बेन्जिन, लिड, क्रोमियम, कोबाल्ट, निकेल, एक्रोलिन जस्ता अनेकौं हानिकारक तत्व हुन्छन् । हुक्कामा सूर्तीलाई तातो बनाई धुँवा उत्पन्न गर्नका लागि बलिरहेको चार्कोलको प्रयोग गरिन्छ, यसमा अन्य विषाक्त तत्वहरु पाइने गरेको छ । हुक्कालाई धूमपान गरेको मानिंदैन भन्ने ठुलो भ्रम रहेको छ ।

    तर, एउटा हुक्का पिउनु २ सय खिल्ली चुरोट पिउनु भन्दा बढी हानिकारक हो । हुक्काको धुँवामा क्यान्सर गराउने बेन्जिन, तार, कार्बनमोनोअक्साइड, आर्से्निनक तथा अन्य क्यान्सर जन्माउन सक्ने तत्वहरु हुन्छ । हुक्का प्रयोग गर्ने र त्यसको धुवाँ सुँघ्न बाध्य भएका मानिसहरुमा बेन्जिनको प्रभाव परेर रक्त क्यान्सर ल्युकेमिया हुने सम्भावना बढ्ने पाइएको छ । हुक्काले ज्यानै लिने रोगहरु उत्पन्न गराउन सक्छ । त्यस्तै हुक्काले हाम्रो शरीरमा दीर्घकालीन असर गर्दछ । हुक्का प्रयोग गर्नेहरुलाई दम, मुटुसम्बधी रोग, श्वासप्रश्वाससम्बन्धी रोग, मुख, घाँटी, पेटको क्यान्सर, पल्मोनरी इन्फेक्सनजस्ता दीर्घकालीन रोगहरु लाग्ने सम्भावना हुन्छ । एउटै हुक्कालाई धेरै जनाले सेयर गर्ने हुनाले यो चुरोटभन्दा झन् विशालु हुने भएको छ । साथै, धेरै जनाले सेयर गर्दा विविध रोगहरुको संक्रमण हुने सम्भावना देखिएको छ ।

    क्षणिक रमाइलो, रोगलाई निम्तो

    हुक्का तान्ने साथीसँगै जाने कुनै साथीले तान्न मानेन भने ऊ त्यहाँ अपहेलित नै हुनुपर्ने अबस्था नै सिर्जना हुन्छ। हुक्का फेसन जस्तै बनेको छ। तर, उनीहरूले त्यसले गर्ने क्षति र हानीका बारेमा कल्पनासमेत गरेका हुँदैनन्। बेनी अस्पतालका डाक्टर मनोज घिमिरेका अन’सार एउटा हुक्का पिउनु २ सय खिल्ली चुरोट पिउनुभन्दा बढी हानिकारक हुन्छ । चुरोटको सर्को कहिल्यै नतानेका युवायुवतीले हुक्काको स्वाद चाखिसकेका छन्। स्याउ, आरु, नरिवल, आँप, पुदिना, कोला, स्ट्रबेरीका फ्लेबरमा हुक्का पाइने गरेको छ ।

    चेतावनीमूलक सन्देश र चित्र छाप्नुपर्ने निर्देशिका कार्यान्वयनमा फितलो

    सूर्तीजन्य पदार्थका बट्टा, प्याकेट र पेटीमा ९० प्रतिशत चेतावनीमूलक सन्देश र चित्र छाप्नुपर्ने निर्देशिका आएको भएपनि अझै कार्यान्वयनमा समस्या छ । २०७१ साल कात्तिक १३ गते ‘सूर्तिजन्य पदार्थको बट्टा, प्याकेट, र्यापर्स, पेटी तथा पार्सल, प्याकेजिङमा चेतावनीमूलक शन्देश, चित्र छाप्ने तथा अंकित गर्ने निर्देशिका, २०७१’ जारी भएको थियो । तर, सूर्तिजन्य पदार्थ उत्पादन गर्ने मध्येको एउटा कम्पनी सूर्य नेपालका कारण यत्तिका समयसम्म पनि कानून कार्यान्वयन हुन सकेको छैन । अन्य सूर्ती कम्पनीले ९० प्रतिशत शन्देश र चित्र छापेपनि सूर्य नेपालले आनकानी गरेको हो ।

    सूर्य कम्पनी नेपालको विभिन्न आर्थिक प्रलोभनमा परेर ऐन, कानुन कार्यान्वयका लागि दबाब दिनुपर्ने निकाय कानमा तेल हालेर बसेको देखिएको छ । ऐन कार्यान्वयनका लागि दिइएको समय ६ महिना अनुसार २०७२ साल जेठ १ गतेदेखि उक्त नियम लागू हुनुपर्ने थियो । तर कानून कार्यान्वयनका लागि पहल गर्नुपर्ने स्वास्थ्य, उद्योग र गृह मन्त्रालयका अधिकारीहरुलाई सूर्ति उद्योगले नै प्रभावमा राखेका कारण कानून कार्यान्वयनमा आउन नसकेको सरोकारवालाहरुले बताएका छन् ।

    सूर्तिजन्य पदार्थको नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको एक्सन नेपालले उद्योगीको प्रभावमा सरकारी निकाय कार्यान्वनमा पन्छिएको बताएको छ । एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्दले सरोकारवाला निकायहरुको उदासिनताका कारण कानुन कार्यान्वयन नभएको बताउनुभयो । उहाँले सूर्तीजन्य पदार्थको नियन्त्रणमा कानून बनाएको भनेर अन्तर्राष्ट्रिय स्तरमा पुरस्कृत भइसकेको नेपालले उक्त कानुन कार्यान्वयन गर्न नसक्दा देशकै इज्जत गएको पनि सुनाउनुभयो ।

    सूर्य नेपालले बट्टाको ९० प्रतिशत भागमा शन्देशमूलक चित्र र शन्देश छाप्ने नियम कार्यान्वयन नगर्दा अन्य कम्पनीले समेत नियम मिच्न थालेको बताइएको छ । चित्र छाप्दा पाँचवटा विभिन्न छाप्नुपर्ने, शन्देश नेपाली भाषामा हुनुपर्ने, २० खिल्ली भन्दा कमको प्याकेट बनाउन नपाइने, खिल्ली बेच्न नपाइने, विज्ञापन गर्न नपाइने जस्ता नियम पनि उलंघन गरिएको पाइएको छ । अर्को सूर्ती कम्पनी विनस्टनले त फ्लेभर उल्लेख गरेको, ग्राहकलाई चुरोट खान उत्प्रेरित गरिरहेको र सजाएर राख्ने गरेको भेटिएको एक्सन नेपालले जनाएको छ ।

    सूर्तीजन्य पदार्थमा नयाँ ट्रेन्ड, हुक्का

    स्वास्थ्य मन्त्रालयले जनाए अनुसार पछिल्लो समय सूर्तीजन्य पदार्थको प्रयोग बढेको छ । हाल सूर्तीजन्य पदार्थमा युवावर्गमा हुक्काको टे«न्ड चलेको छ । युवायुवती नै यसको सिकार भएको एक्सन नेपालका अध्यक्ष चन्दले बताउनुभयो । उहाँले भन्नुभयो,‘फोटो पोष्ट गर्ने चलका कारण धेरै युवायुवतीहरुले चुरोट होइन भन्दै हुक्काले केही गर्दैन भनेर फेसनका रुपमा खाने गरेका छन्, फ्लेभर भन्दै तान्ने र एउटा फोटो पोष्ट्याउनकै लागि भए पनि खाने गरेका छन् ।’ उहाँले थप्नुभयो,‘यसले चाँडै विकाराल रुप ल्याउँछ, अभिभावकहरु यसमा सजग र सचेत रहन जरुरी छ ।’

    सूर्तीजन्य पदार्थको अत्यधिक प्रयोग बढ्दा नसर्ने रोगका विरामीहरु पनि बढ्ने चिकित्सकहरु बताउँछन् । सूर्तिजन्य पदार्थले फोक्सो, सासनली, मुख, मष्तिष्क, आँखा, मुटु, कलेजोमा नराम्रो असर गर्दछ । सूर्तिजन्य पदार्थले स्वास्थ्यलाई हानीमात्रै गर्ने सबैलाई थाहा हुँदाहुँदै पनि यसको प्रयोगमा कमी भने आउन सकेको छैन । सूर्तिजन्य पदार्थको प्रयोगबाट उत्पन्न स्वास्थ्य समस्याका कारण दिनमा ७४ जना नेपालीको मृत्यु हुने गरेको तथ्यांकले देखाउँछ ।

    सूर्तीजन्य पदार्थको प्रयोगबाट नेपालमा वर्षेनी २७ हजार भन्दा बढी मानिसको मृत्यु हुने गरेको सरकारी तथ्यांक छ । मुटु,फोक्सो, मधुमेह, क्यान्सर जस्ता रोगको प्रमुख कारक धुमपान रहेको अध्ययनहरूले देखाएका छन् । त्यस्तै हृदयघात ५० वर्षभन्दा माथिको उमेर समूहका मानिसलाई देखापर्ने गरेकोमा पछिल्लो समयमा २० देखि ३० वर्ष उमेर समूहका युवामा बढी देखापर्ने गरेको छ । यसो हुनुमा सूर्तीजन्य प्रयोग नै कारक तत्व भएको बताइएको छ ।

    सूर्तिजन्य पदार्थ सेवन गर्नेलाई कोभिडको उच्च जोखिम

    सूर्तीजन्य पदार्थ सेवन गर्नेलाई कोरोना भाइरस (कोभिड–१९) को जोखिम उच्च रहेको चिकित्सकहरुले बताएका छन् । उसो त विश्वभर दोस्रो, तेस्रो भेरियन्ट तिव्ररुपमा बढेसँगै अहिले कोरोना भाइरस रोगको महामारी बढ्दो छ । नेपालमा हाल दोस्रो भेरियन्टको जोखिम भइरहे पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तेस्रो भेरियन्ट आउने आंकलन गर्दै बालबच्चालाई जोगाउन आग्रह गरिएको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले सूर्तीजन्य पदार्थ सेवन गर्ने र दीर्घरोगी कोरोनाको उच्च जोखिममा रहेकाले सचेत हुन सुरुदेखि नै आग्रह गर्दै आइरहेको छ । धुमपानले विभिन्न किसिमका राग उत्पन्न गराउने र रोग प्रतिरक्षा क्षमता घटाउने भएकाले कोरोना संक्रमणको जोखिम उच्च रहने भएकाले धुमपानबाट टाढा रहनुपर्ने डब्ल्यूएचओकोे सुझाव छ ।

    डब्ल्यूएचओका नेपाल प्रतिनिधि डा.जोश भ्यान्डेलियरले सूर्तीजन्य पदार्थको प्रयोगकर्तामा कोभिड–१९ को जोखिम बढी हुने देखिसकेकाले यसको प्रयोगलाई निरुत्साहित गर्नुपर्ने बताउनुहुन्छ । त्रिवि शिक्षण अस्पतालका वरिष्ठ छातीरोग विशेषज्ञ डा. निरज बमका अनुसार सूर्तीजन्य पदार्थ प्रयोग गर्नेहरुको मुख्य अंगहरु फोक्सो, मुटु, मिर्गाैला कमजोर हुने भएकाले उनीहरुको रोग प्रतिरक्षा प्रणालिमा असर पुगिसकेको हुन्छ र यस्तो अवस्थाका मानिसलाई कोरोनाको संक्रमण भएमा झनै गाह्रो बनाउँछ र संक्रमितको मृत्यु हुने जोखिम उच्च रहन्छ ।

    ३० प्रतिशत क्यान्सर धुमपानका कारण

    वरिष्ठ क्यान्सररोग विशेषज्ञ डा. प्रकाशराज न्यौपानेका अनुसार विभिन्न रोगका कारण भइरहेको मृत्युमा ७० प्रतिशत हिस्सा धुमपानको रहेको छ र त्यसमा क्यान्सरको कारणमा ३० प्रतिशत धुमपान रहेको छ । धुमपानका कारण क्यान्सर भई वर्षमा कम्तिमा ७ सय नेपालीको मृत्यु हुने गरेको छ । उहाँ भन्नुहुन्छ, धुमपान सुस्त विष हो जसले सुरुमा असर गरेको थाहै हुँदैन तर कालान्तरमा भित्रभित्रै शरीरका अंगहरुलाई खोक्रो बनाइसकेको हुन्छ र मानिसको मृत्यु गराउँछ । सूर्तीजन्य पदार्थमा लगाइँदै आएका करलाई अझै बढाउनुपर्ने उहाँको भनाई छ ।

    कानुन कार्यान्वयनमा एक अर्कोलाई पन्छाउँदै मन्त्रालय

    नेपालले कानूनी रुपमै संसारमै सबैभन्दा बढी अर्थात सुर्तिजन्य पदार्थको प्याकेटमा ९० प्रतिशत चित्र छाप्ने व्यवस्था ल्याएको भन्दै सन् २०१५ मा तत्कालिन स्वास्थ्यमन्त्री खगराज अधिकारी एक लाख डलरको प्रतिष्ठित व्लुम्बर्ग फिलान्थ्रोपिक अवार्डबाट विभुषित हुनुभयो ।
    त्यसपछि नेपाल सुर्ति नियन्त्रण सम्वन्धी उत्कृष्ठ कानून बनाउने देशको रुपमा संसारभर चिनिएको थियो । तर बनाएको कानून कार्यान्वयन नहुँदा भने नेपालले पहिला पाएको ख्याती सेलाउँदै गएको छ ।

    सुर्तिजन्य पदार्थको प्याकेटमा ९० प्रतिशत चित्र छाप्नुपर्ने व्यवस्थाको किन कार्यान्वयन भएन भनेर स्वास्थ्य अधिकारीहरुलाई सोध्दा कानूनले कार्यान्वयन गराउने अधिकार गृह मन्त्रालय अन्तरगर्तको निकायलाई दिएको भनेर पन्छिने गरेका छन् । हुनपनि कानूनले सूर्ती सम्वन्धी कानूनको कार्यान्वयनको अवस्था, कार्यान्वयन र कारवाही गर्ने अधिकारी सहायक प्रमुख जिल्ला अधिकारीहरुलाई तोकेको छ । यस्तै पालिकाहरुका प्रमुख प्रशासकीय अधिकृतलाई पनि सो अधिकार दिएको छ । अधिकृतहरु समेत चित्रअंकित कुरालाई उद्योग मन्त्रालयले कारवाही गर्ने बताउँछन् ।

    यता एक्सन नेपालका अध्यक्ष चन्दले जिम्मेवार निकायले नै एक अर्कामा दोषारोपण गरेर उम्किँदै कानून कार्यान्वयन गर्ने ईच्छा नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘जिम्मेवार अधिकारीहरु नै कानुन कार्यान्वयनमा बाधक भएर बस्नुभएको छ । विभिन्न सम्बन्धित मन्त्रालयहरु एक अर्कालाई पन्छाउँदै बस्नुभएको छ । यस विषयमा त्यति मन नै गर्नुहुँदैन, यो भनेको कानुन कार्यान्वयन नहुने भन्ने नै बुझिन्छ ।’

  • २४ जेष्ठ २०७८, सोमबार १४:२७ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images