प्रेसमाथि अंकुश लगाउन काउन्सिल अध्यक्षमा नियुक्ति- पत्रकारका ५ संगठनले जनाए आपत्ति
  • CIA Khabar

  • काठमाडौं ।  विपक्षी गठबन्धनसम्बद्ध पत्रकारका पाँच वटा संघसंगठनले कामचलाउ हैसियतको सरकारले सरकारी सञ्चारमाध्यम र प्रेस काउन्सिलमा गरेको नियुक्तप्रति आपत्ति जनाएका छन् ।

    ती संगठनले सोमबार संयुक्त प्रेस विज्ञप्ति जारी गरी प्रेस काउन्सिलको अध्यक्षमा गरिएको नियुक्तिले सरकार सिंगो प्रेस जगतमाथि अंकुश लगाउने योजनामा रहेको प्रस्ट भएको टिप्पणी गरेका छन् ।

    सरकारले गत शुक्रबार प्रेस काउन्सिलको अध्यक्षमा पत्रकार बालकृष्ण बस्नेतलाई नियुक्त गरेको थियो । उनी गत चैतमा सम्पन्न पत्रकार महासंघको निर्वाचनमा सत्तारूढ एमालेसम्बद्ध प्रेस चौतारी नेपालका तर्फबाट महासचिवका प्रत्यासी भई पराजित भएका थिए ।

    प्रतिनिधिसभा विघटन भई सरकार कामचलाउ भइसकेको र संसदका बहुमत सांसदले हस्ताक्षरसहित वर्तमान सरकारविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका बेला दीर्घकालीन महत्वका नियुक्ति गरेर सरकारले प्रेसलाई थप अंकुश लगाउन खोजेको आरोप ती संघसंगठनले लगाएका छन् ।

    पत्रकार आचारसंहिताको पालना गराउने र निर्वाचन आचारसंहिताको अनुगमनसमेत गर्ने अर्धन्यायिक निकायको रूपमा रहेको प्रेस काउन्सिल नेपालको अध्यक्ष नियुक्तिको प्रक्रिया र नियत हेर्दा आफ्ना विपक्षमा लेख्ने मिडियामाथि अंकुश लगाउने, निर्वाचन धाँधली गराउने गुरुयोजना अन्तर्गत प्रधानमन्त्री केपी शर्मा ओली लागेको ती संगठनको आरोप छ ।

    ‘प्रेसको समाचार सामग्री नियमन गर्ने काउन्सिल जस्तो संस्थाको बोर्डमा केपी ओली नेतृत्वको सरकारले एकलौटी रूपमा आफ्ना कार्यकर्ता मात्र नियुक्ति गरेको छ । नेपाली पत्रकारको साझा संस्था पत्रकार महासंघ समेतलाई मानमर्दन हुनेगरी गरिएको नियुक्तिले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकार कुण्ठित गर्न राज्य तल्लीन रहेको पुष्टि गरेको छ’ विज्ञप्तिमा भनिएको छ, ‘प्रेस काउन्सिलमार्फत सिङ्गो प्रेसमाथि अंकुश लगाउने सरकारी षड्यन्त्रको भण्डाफोर गर्न हामी पत्रकार महासंघसहित सरोकारवाला सबैमा आग्रह गर्दछौँ ।

    विज्ञप्तिमा कांग्रेससम्बद्ध प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, माओवादी केन्द्रसम्बद्ध प्रेस संगठनका अध्यक्ष महेश्वर दाहाल, माधव नेपाल समूहसम्बद्ध प्रेस चौतारी नेपालका उपाध्यक्ष विश्वमणि सुवेदी, जसपानिकट प्रेस मञ्च नेपालका अध्यक्ष केशव अर्याल र राष्ट्रिय जनमोर्चासम्बद्धप्रगतिशिल पत्रकार संघ नेपालका सचिव श्यामलाल पोखरेलले हस्ताक्षर गरेका छन् ।

  • २४ जेष्ठ २०७८, सोमबार १७:२१ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images