मुख्यमन्त्री भट्टलाई विश्वासको मत दिने एमाले संसदीय दलको निर्णय
  • CIA Khabar

  • काठमाडौँ।नेकपा एमालेको सुदूरपश्चिम संसदीय दलले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिने निर्णय गरेको छ ।

    पार्टीले विपक्षमा मत हाल्न दिएको निर्देशनविपरित नेपाल समूहको बाहुल्यता रहेको संसदीय दलले मुख्यमन्त्री भट्टलाई विश्वासको मत दिने निर्णय गरेको हो ।

    २४ सदस्यी संसदीय दलमा केपी ओली पक्षका ७ सांसदले भने बहुमतको उक्त निर्णयमा असहमति जनाएका छन् । एमालेका लीलाधर भट्ट, रतन थापा, पठानसिंह बोहोरा, गेल्वुसिंह बोहोरा, माया तामाङ बोहोरा र वलदेव रेग्मी र नेपालु चौधरीले निर्णयमा हस्ताक्षर गर्न अश्वीकार गरेका छन् ।

    योसँगै सुदूरपश्चिम प्रदेशमा एमालेको संसदीय दल पनि विभाजित भएको छ । आजै कांग्रेस संसदीय दलले पनि मुख्यमन्त्री भट्टलाई विश्वासको मत दिने निर्णय गरेको छ ।

    योसँगै मुख्यमन्त्री भट्टको पद जोगिने भएको छ । उनले  विश्वासको मतका लागि अहिले प्रदेशसभामा प्रस्ताव राख्दैछन् ।

    भट्टले संविधानको धारा १८८ बमोजिम विश्वासको मत लिन आइतबार प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गराएका थिए।

    मुख्यमन्त्रीले प्रदेशसभामा पेश गरेको विश्वासको प्रस्तावको पक्ष, विपक्ष र तटस्थ बस्ने प्रदेशसभा सदस्यका लागि समेत छुट्टाछुट्टै मत खसाल्ने व्यवस्था गरिएको प्रदेशसभा सचिवालयका सचिव रामसिंह धामीले जानकारी दिए ।

    ५२ प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीलाई विश्वासको मत प्राप्त गर्न २७ मत आवश्यक पर्छ । अहिले प्रदेशसभामा सबैभन्दा ठूलो दल एमालेका सभामुखबाहेक २४, माओवादीका १३, कांग्रेसका १२ र जनता समाजवादी पार्टी नेपालका दुई जना छन् ।

  • २५ जेष्ठ २०७८, मंगलवार १०:३३ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images