सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत पाएका छन् ।
मंगलबार प्रदेशसभामा विश्वासको मत मागेका मुख्यमन्त्री भट्टले ३० मत पाएका छन् । योसँगै मुख्यमन्त्री भट्ट नेतृत्वको सरकार जोगिएको छ । यस्तै, एमाले अध्यक्ष केपी शर्मा ओली पक्षका सात र जसपाका दुई सांसदले विपक्षमा मतदान गरे ।
एमालेका २५ मध्ये माधवकुमार नेपाल पक्षका १७ जना सांसदले मुख्यमन्त्री भट्टलाई विश्वासको मत दिएका छन् । यस्तै, भट्ट नेतृत्वको सरकार ढल्न नदिने निर्णय गरेको कांग्रेसका १२ सांसद भने तटस्थ बसेका छन् ।
अध्यक्ष ओली समूहमा रहेका सांसदहरु एमाले ओली पक्षका सांसदहरु पठानसिंह बोहरा, माया तामाङ, ग्याल्बु बोहरा, नेपालु चौधरी, लिलाधर भट्ट, बलदेव रेग्मी र रतन थापाले विपक्षमा मतदान गरे ।
एमालेको प्रदेश कमिटीले मुख्यमन्त्री भट्टको विपक्षमा मतदान गर्न ह्वीप जारी गर्न संसदीय दललाई निर्देशन दिएको थियो । तर, माधव नेपाल समूहको बहुमत रहेको सुदूरपश्चिम संसदीय दलले मुख्यमन्त्री भट्टलाई विश्वासको मत दिने निर्णय गरेको थियो ।
१० जेठमा बसेको एमाले स्थायी कमिटीको बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्नुका साथै सरकारमा सहभागी मन्त्रीहरुलाई राजीनामा दिन निर्देशन दिएको थियो ।
तर, एमाले स्थायी कमिटीको निर्देशनविपरीत एमालेको नेपाल समूहका सांसदहरुले सरकार दिएको समर्थन कायमै रहेको जानकारी प्रदेशसभा सचिवालयलाई गराएका थिए । त्यतिमात्रै होइन, केही दिनअघिमात्रै एमालेको नेपाल समूहका सांसदहरु सरकारमा सहभागी पनि भएका छन् ।
५२ सदस्यीय प्रदेशसभामा नेकपा एमालेका सभामुखसहित २५ जना, माओवादी केन्द्रका १३, कांग्रेसका १२ जना र जनता समाजवादी पार्टीका २ जना प्रदेशसभा सदस्य छन् ।