बागमतीमा नीति तथा कार्यक्रम पेस गर्न २७ जेठमा बोलाइयो प्रदेशसभा बैठक
  • CIA Khabar

  • बागमती ।बागमती प्रदेशसभाको बैठक २७ जेठ (बिहीबार)का लागि बोलाइएको छ । आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्न प्रदेशसभा बैठक आह्वान गरिएको हो ।

    आगामी आवको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) माथि छलफल सकिएपछि १७ जेठमा प्रदेशसभा बैठक स्थगित गरिएको थियो । प्रदेशसभा सचिवालयले दिउँसो ३ बजेलाई बैठक बोलाएको छ ।

    सरकारका प्रवक्ता तथा आर्थिक ममिला तथा योजनामन्त्री कैलाश ढुंगेलले २७ जेठमा नीति तथा कार्यक्रम प्रस्तुत हुने जानकारी दिए । उनले नीति, कार्यक्रम कोभिड–१९ महामारी नियन्त्रण र रोकथामको प्राथमिकतामा रहेर प्रस्तुत गरिने बताए ।

    सरकारले ढिलो गरी नीति तथा कार्यक्रम ल्याउन लागेको हो । प्रदेशसभामा विपक्षी दलहरुले मोर्चाबन्दी गरेर एउटै कित्तामा उभिने धारणा राखेपछि सरकारले नीति, कार्यक्रम ल्याउन ढिलाइ गरेको बुझिएको छ ।

    सामान्यतया १ असारमा बजेट ल्याउने भएपछि त्यसको १५ दिनअघि नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने हुन्छ । विपक्षी दलले एकलौटी ढंगबाट बजेट निर्माण भएकोले आफ्ना सुझाव समेटेर अघि बढे मात्रै पास हुन दिने चेतावनी दिएपछि मुख्यमन्त्री डोरमणि पौडेल सरकार संकटमा परेको थियो ।

    बागमती  सरकारले १ असारमा आगामी आवको बजेट ल्याउने तयारी गरिरहेको छ । आर्थिक ममिला मन्त्री ढुंगेलका अनुसार ५५ अर्ब हाराहारीमा बजेट आउने छ ।

    चालू आव २०७७/०७८ मा ५१ अर्बको बजेट ल्याइएको थियो । आगामी बजेटको पहिलो प्राथमिकतामा कोभिड–१९ रोकथाम र नियन्त्रणसहित स्वास्थ्य क्षेत्रको विकास, शिक्षा र कृषि रहेको मन्त्री ढुंगेलले जानकारी दिए ।

  • २५ जेष्ठ २०७८, मंगलवार १६:०४ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images