धादिङ । जनजाति कल्याण आश्रम नेपाल एवं सेवा इन्टरनेसनल नेपालले धादिङको रुबी भ्याली गाउँपालिकालाई कोभिड अस्पताल सञ्चालनमा सहयोग गरेको छ ।
गाउँपालिकाले सञ्चालनमा ल्याइएको १५ शय्याको कोभिड अस्पताललाई मेट्रेस, सिरानी, आईबी स्ट्यान्डसहितको १० सेट मेडिकल फोल्डिङ बेड र १० लिटर क्षमताको एउटा र पाँच लिटर क्षमताको ४ वटा अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरिएको हो ।
उक्त सामग्री काठमाडौँबाट धादिङ बेसी हुँदै बोराङसम्म सवारी साधनमा ढुवानी गरिएको थियो । त्यहाँबाट पिठ्यूँमा बोकेर ५ घण्टामा लापा गाउँसम्म पुर्याइएको मिलन भट्टले जानकारी दिए ।
त्यस्तै आवश्यक औषधि सहितका सामग्री आगामी कार्यक्रममा हस्तान्तरण गरिने सेवा इन्टरनेशनल नेपालका प्रोजेक्ट कोओर्डिनेटर प्रसन्न वैद्यले बताए । रुबी भ्याली गाउँपालिकाको कोभिड अस्पतालमा उपचाररत बिरामी तथा तिनका कुरुवालाई एक महिनाको खानाको व्यवस्था पनि गरिने बताइएको छ ।