ज्वाला बलिरहने नाबिस्थान मन्दिर निर्माण हुँदै
  • CIA Khabar

  • दैलेख । दैलेखको प्रसिद्ध तीर्थस्थल मानिएको दुईवटा ज्वाला निरन्तर बलिरहने पञ्चकोशीधाममध्येको एक शक्तिपीठ नाबिस्थान मन्दिरको पुनः निर्माण कार्यको काम थालिएको छ । पुरातत्व विभागबाट रु ४० लाख रकम विनियोजन भएपछि नाबिस्थान मन्दिर पुनःनिर्माण हुन लागेको हो ।

    निषेधाज्ञाको समयमा पनि स्वास्थ्य मापदण्डको पालना गर्दै निर्माण कम्पनीले मन्दिर निर्माण कार्य थालनी गरेको छ । मन्दिर निर्माणको जिम्मा पुष्प निर्माण कम्पनीले पाएको छ ।

    लामो समयसम्म पुनः निर्माण हुन नसक्दा धार्मिक र ऐतिहासिक महत्व बोकेको मन्दिर जीर्ण हुँदै भत्किने अवस्थामा पुगेका बेला मन्दिरलाई पुनः बनाउन लागेको देख्दा निकै खुशी भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नवीन योगीले जानकारी दिए । मन्दिर पुरानै शैलीमा निर्माण गरिने निर्माण कम्पनीका ठेकेदार मथुराप्रसाद जैसीले जानकारी दिए ।

    स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै आगामी असार मसान्तसम्म मन्दिर निर्माण कार्य सम्पन्न गरिने पनि उनले बताए । डिपिआर मन्दिर व्यवस्थापन समितिले गरेको सोही अनुसार निर्माण कम्पनीले निर्माण गर्ने व्यवस्थापन समितिका अध्यक्ष नवीन योगीले जानकारी दिए ।

    उनका अनुसार मन्दिर पुरानै शैलीमा काठको कलात्मक ढाँचा र ढुङ्गामाटो प्रयोग गरी छाना पुरानै झिङ्गटीले छाइनेछ । स्टिमेटअनुसार धमाधम काम भइरहेको र सम्झौता समयावधिभित्रै निर्माण कार्य सम्पन्न गरी हस्तान्तरण गरिने निर्माण कम्पनीले जनाएको छ ।

    नाबिस्थान मन्दिर यहाँको प्रसिद्ध धार्मिक तीर्थस्थल पञ्चकोशीधाममध्येको एक शक्ति पीठ मानिन्छ । दैलेखको पवित्र तीर्थस्थलले परिचित पञ्चकोशीधाम अन्तर्गतमा श्रीस्थान, नाबिस्थान, पादुका, धुलेश्वर र कोटिला मन्दिरलाई सूचीकृत गरिएको छ । सो मन्दिरमा अनवरत रुपमा सदियौँदेखि दुई ज्वाला निरन्तर बलिरहेका छन् भने धार्मिक तथा आन्तरिक पर्यटनको आकर्षक गन्तव्य पनि रहेको छ ।

  • २६ जेष्ठ २०७८, बुधबार १८:३३ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images