जेठ २६ मा आफ्नो जन्मदिन मनाइरहेका राजेश हमाल यस कारण दर्शकका प्रिय बने
  • CIA Khabar

  • काठमाडौँ।अभिनेता राजेश हमाललाई उमेरको प्रश्न गर्नुभयो भने उनले दिने दिगो जवाफ छ- ‘२५ वर्ष’ । उनी आफ्नो वास्तविक उमेर खुलाउन चाहँदैनन् । तर, जेठ २६ मा आफ्नो जन्मदिन मनाइरहेका राजेश ५८ वर्ष लागेका छन् ।

    राजेशले नेपाली फिल्मक्षेत्रमा लामो समय एकछत्र राज गरे । पोस्टरमा राजेशको टाउको देख्दा हलमा दर्शकको भिड लाग्थ्यो । निर्माता-निर्देशक उनलाई महिनौँ कुरेर फिल्म खेलाउन तयार हुन्थे ।

    राजेशलाई नेपाली फिल्मक्षेत्रमा ‘महानायक’ भनेर सम्बोधन गर्ने गरिन्छ । भलै उनी यसै उपाधिका कारण बेला-बेला विवादित बनिरहन्छन् । राजेशलाई भनिने गरेर ‘महानायक’ विशेषणमा कसैले प्रश्न गरे भने उनका शुभचिन्तकले लखेटिहाल्छन् । झण्डै एक वर्षअगाडि अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले ‘महानायक’ पद्‌वीमा प्रश्न गर्दा डिप्रेसनमा नै पुग्नुपरेको उदाहरण छँदै छ ।

    नेपाली फिल्मक्षेत्रमा तीन दशक बिताएका राजेशले बच्चादेखि वृद्धसम्मलाई आफ्नो शुभचिन्तक बनाउन सफल बनेका छन् । कारण उनले अभिनय गरेका फिल्म नै हुन् । उनले निर्वाह गरेको भूमिकाका कारण राजेश दर्शकमाझ लोकप्रिय बन्न पुगे ।

    २ सयभन्दा बढी फिल्म खेलेका राजेशले धेरै प्रकारका चरित्र निर्वाह गरेका छन् । उनी कहिले गाउँले बने, कहिले भरिया बने, कहिले अनाथ बने, कहिले प्रहरी बने । यी अनेक भूमिकाले गर्दा उनी आम–दर्शकसँग सजिलै जोडिएका छन् ।

    राजेश आफूलाई फिल्मक्षेत्रले दिएको सबैभन्दा ठूलो उपलब्धि नै यसैलाई मान्छन् । उनी भन्ने गर्छन्, ‘मलाई फिल्मले समाजसँग नजिक गराइदियो । मैले गाउँले हुँदाको अनुभव गरेँ, गरिब-दुःखी हुँदाको अनुभव गरेँ, अनाथ हुनुको अनुभव गरेँ । यो सबै फिल्मले गर्दा नै त हो ।’

    दर्शकसँग नजिक रहेको कथाको पात्र बन्न पाएकै कारण आफूलाई दर्शकले निकै माया गर्ने गरेको राजेश बताउँछन् । उनी भन्छन्, ‘ उहाँहरूकै आवाज, उहाँहरूकै कथा, उहाँहरूकै दुःख भन्दै गर्दा उहाँहरूले मलाई आफ्नो प्रिय पात्र मान्नुभयो । उहाँहरूले मलाई मनैदेखि माया गर्नुभयो ।

    राजेश प्राय: फिल्ममा दुःखी पात्रका रूपमा देखिन्थे । उनको भूमिका नै माया लाग्ने खालको हुन्थ्यो । आफूले निर्वाह गरेको दुःखी पात्रका कारण पनि थप माया पाएको राजेशले बुझेका छन् । ‘दुःखीलाई माया गर्नेहरू धेरै भइहाल्नुहुन्छ नि’, ठट्यौली पारामा राजेशले भने ।

    राजेशले भरियाको भूमिका निर्वाह गरेको देख्ने दर्शकले राजेशलाई भेट्दा ‘भरिया’ उपनामले नै सम्बोधन गरेको किस्सा राजेशले बिर्सिएका छैनन् । सडक बालबालिकाले ‘राजेश दाइ पनि सानोमा खाते नै हुनुहुन्थ्यो नि’ भनेको पनि राजेशको मष्तिष्कमा ताजै छ ।

    आफ्नो कामबाट यत्तिका माया पाइरहेको देख्दा राजेश आफैँमा गर्व गर्छन् ।

    ‘युगदेखि युगसम्म’बाट नेपाली फिल्मक्षेत्रमा प्रवेश गरेका राजेश केही समयको विश्रामपछि ‘सत्यम’ नामक फिल्मबाट दर्शकमाझ फर्किने तयारीमा छन् ।

  • २६ जेष्ठ २०७८, बुधबार १८:२६ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images