एक हप्ताभित्र काँग्रेसको दोस्रो सत्तारोहण : मन्त्री छनोटमा निधि हावी, पौडेल पक्ष रित्तै !
  • CIA Khabar

  • काठमाडौँ । नेपाली काँग्रेसले प्रदेश २ सरकारमा सहभागी भएको छ । जनता समाजवादी पार्टी (जसपा) नेतृत्वको सरकारमा तीन मन्त्रीसहित काँग्रेस सरकारमा सहभागी बनेको हो ।

    प्रदेश २ काँग्रेसबाट संसदीय दलको नेता रामसरोज यादवको नेतृत्वमा ओमप्रकाश शर्मा र वीरेन्द्र सिंह सरकारमा सामेल भएका छन् । यादवले भौतिक पूर्वाधार तथा यातायात, शर्माले ऊर्जा तथा खानेपानी र सिंह महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालयको नेतृत्व सम्हालेका छन् ।

    मन्त्री छनोटमा निधि हावी, पौडेल पक्षले पाएन भाग

    प्रदेश २ मा मन्त्री भएका तीनै जना काँग्रेसको संस्थापन पक्षनिकट हुन् । संस्थापन पक्षभित्र पनि यादव र सिंह निधिनिकट हुन् भने शर्मा सभापति शेरबहादुर देउवासँग नजिक मानिन्छन् ।

    यादव धनुषा ३ को (ख) बाट निर्वाचित प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । उनी धनुषा काँग्रेसका जिल्ला सभापति पनि हुन् । शर्मा समानुपातिक सांसद हुन् । उनी पर्साका शर्मा वीरगञ्ज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष समेत रहेका छन् । सिंह सर्लाही क्षेत्र नं. ४ को (क) बाट निर्वाचित भएका थिए ।

    उनी पहिले सांस्थापनइतरका काँग्रेस केन्द्रीय सदस्य अमरेश सिंहसँग निकट मानिएपनि पछिल्लो समय निधिसँग नजिकिएको पाइन्छ ।

    निधिले संस्थापनइतर पक्ष निकट कार्यकर्तालाई पार्टीको केन्द्रीय नीति तथा अनुसन्धान प्रतिष्ठानदेखि प्रदेश मन्त्रीसम्म बनाएर आफ्नो पक्षमा ल्याएको देखिन्छ ।

    संस्थापन पक्षभित्रका अन्य सांसदहरुले मन्त्री बन्ने आकाङ्क्षा राखेपनि निधि हावी हुँदा देउवाले एक जनामा चित्त बुझाएका छन् । यस्तै काँग्रेस राष्ट्रिय पार्टी भएकाले पहाडी मूलका सांसदलाई पनि मन्त्री बनाउनुपर्ने देउवा पक्षभित्र आवाज उठेको थियो ।

    काँग्रेस केन्द्रीय सदस्य महेन्द्र यावदले सकारात्मक सन्देश दिने गरी एक जना पहाडीलाई प्रदेश २ को मन्त्री बनाउन सभापति देउवालाई सुझाव दिएका थिए । उनले बाराकी सांसद शोभा लामालाई मन्त्री बनाउन लबिङ गरेका थिए । तर त्यो सफल हुन सकेन ।

    काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट नरेशकुमार यादव लगायतले पनि मन्त्री बन्ने दौडमा थिए । तर बुधबार विहान सभापति देउवा र निधिबीच बूढानीलकण्ठमा भएको छलफलमा उनको नाम अनुमोदन भएन ।

    देउवाले पौडेल पक्षलाई पनि समेटेर लैजाने सोच बनाएपनि निधिले अगाडि सारेको नाममा धेरै नाइनास्ती नगरेको बूढानीलकण्ठ स्रोतले बतायो ।

    यसअघि कर्णाली प्रदेशमा सभापति देउवा र वरिष्ठ नेता पौडेल निकटलाई मन्त्री बनाइएको थिए । देउवानिकट सुर्खेतका यज्ञबहादुर विसी सामाजिक विकास र पौडेलनिकट जुम्लाका दिनबन्धु श्रेष्ठ जलस्रोत तथा ऊर्जा मन्त्री बनेका थिए ।

    प्रदेश २ सरकारमा भने पौडेल पक्षको प्रतिनिधित्व हुन सकेन । यद्यपि बजेट ल्याएपछि पौडेल पक्ष र पहाडीको प्रतिनिधित्व गराउन मुख्यमन्त्री राउतले राज्यमन्त्री थपेर मन्त्रिपरिषद विस्तार गर्ने सहमत भएका छन् ।

    जसमा काँग्रेसलाई तीन वटा राज्यमन्त्री दिने सहमति भएको काँग्रेस नेता महेन्द्र यादवले बताए ।

  • २६ जेष्ठ २०७८, बुधबार २१:०८ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images