काठमाडौँ । २०७७ सालको विद्यालय शिक्षा परीक्षा (एसईई) मा सहभागी हुन ५ लाख १७ हजार १२२ जना विद्यार्थीले आवेदन फारम भरेका छन् ।
यी विद्यार्थी २०६८ सालमा कक्षा एकमा भर्ना भएका हुन् । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार उक्त वर्ष कक्षा एकमा १२ लाख ८४ हजार ४८ जना विद्यार्थी भर्ना भएका थिए ।
२०७७ सालको एसईईमा सहभागी हुन आवेदन दिएका मध्ये ४ लाख ९९ हजार ६१९ जना नियमित परीक्षार्थी हुन् । बाँकी १७ हजार ५०३ जना विद्यार्थी गे्रड वृद्धिका लागि सबै विषयमा दोहोर्याएर परीक्षा दिन चाहनेहरू हुन् ।
यसरी हेर्दा ७ लाख ८४ हजार ४२९ जना विद्यार्थी एसईईसम्म पुगेनन् । यसको अर्थ उनीहरूले बीचमै पढाइ छाडे ।
यसले के देखाउँछ भने २०६८ सालमा कक्षा एकमा भर्ना भएका मध्ये ६१ प्रतिशत विद्यार्थीले बीचमै पढाइ छाडे, ३९ प्रतिशत विद्यार्थीमात्रै एसईईमा पुगे ।
यहाँ प्रश्न उठ्छ– यति धेरै विद्यार्थी अर्थात एक कक्षामा भर्ना भएका सय जनामध्ये ६१ जना विद्यार्थीले किन बीचमै पढाइ छाडे ?
यो तथ्यांक परिस्थितिको ऐना हो । हरेक वर्ष वर्ष विद्यार्थीले बीचमै पढाइ छाड्ने प्रवृत्ति उही हो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार सरकारले विद्यालयमा विद्यार्थी टिकाउन सम्भव सबै प्रयासहरू गरे पनि सोचेअनुरूप टिकाउन सकिएको छैन । शर्मा भन्छन्, ‘शिक्षा मन्त्रालयले सञ्चालन गर्ने सबै कार्यक्रमहरू विद्यार्थीलाई विद्यालयमा टिकाउन केन्द्रित छन् तर विभिन्न कारणले विद्यार्थी टिकाउन सकिएको छैन ।’
गरिबी, विद्यालयमा हुने लैङ्गिक विभेद, धर्मसंस्कार लगायत विभिन्न कारणले गर्दा विद्यार्थी टिकाउन मुश्किल भएको उनको भनाइ छ ।
सरकारले सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीहरूलाई विद्यालयमा टिकाइ राख्न विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने गरेको छ । माध्यमिक शिक्षा निःशुल्क, कक्षा १० सम्म निःशुल्क पाठ्यपुस्तक, कक्षा ५ सम्म दिवाखाजा, सहज कक्षोन्नति, छात्रवृत्ति, छात्राका लागि निःशुल्क स्यानीटरी प्याड लगायतका कार्यक्रम छन् ।
पढाइ छोड्ने प्राथमिक तहमा धेरै
शिक्षा तथा मानव स्रोत विकास केन्द्रको तथ्यांकअनुसार २०६८ सालमा कक्षा १ मा भर्ना भएका विद्यार्थी संख्या २०७१ सालमा कक्षा ४ मा पुग्दा सबै भन्दा धेरै घटेको देखिएको छ ।
२०६८ सालमा कक्षा १ मा भर्ना भएका १२ लाख ८४ हजार ४८ विद्यार्थीमध्ये २०७१ सालमा कक्षा ४ मा ७ लाख ७२ हजार ९४२ जनामात्र पुगेको देखिन्छ ।
त्यस्तै कक्षा ४ को उक्त संख्या एक वर्षपछि कक्षा ५ मा पुग्दा २२ हजार ५९१ जना घटेर ७ लाख ५० हजार ३५१ पुगेको केन्द्रको तथ्यांकले देखाउँछ ।
२०७४ सालमा कक्षा ७ मा पुग्दा उक्त विद्यार्थी संख्या १ लाख ३४ हजार २३० ले घटेर ६ लाख १६ हजार १२१ र २०७५ सालमा कक्षा ८ मा पुग्दा ४ हजार २२९ ले घटेर ६ लाख ११ हजार ८९२ पुगेको देखिन्छ ।
यसपछि कक्षा ६ देखि ८ सम्म पुग्दा विद्यार्थीहरूले विद्यालय छोड्ने गरेको तथ्यांकले दखाउँछ ।
विद्यार्थीहरूले यसरी बीचमै किन पढाइ छाड्छन् ?
शिक्षाविद् प्राडा विद्यानाथ कोइराला सबैभन्दा पहिला विद्यार्थीका अभिभावकलाई राज्यले सक्षम बनाउनुपर्ने बताउँछन् ।
उनका अनुसार जुन परिवार सक्षम र आर्थिक रुपले सबल छ त्यस्तो परिवारका बालबालिकाले बीचमा विद्यालय छोड्दैनन् । उनका अनुसार विद्यार्थीको उमेरसँगै उसमा थपिने जिम्मेवारीका कारणले पनि बीचमै विद्यालयबीचमै छोड्ने गरेको पाइएको छ ।
यस्ता समस्या समाधान गर्न स्थानीय तहले आफ्नो क्षेत्रभित्र रहेका गरिब समुदायलाई आर्थिक रुपले सबल बनाउने कार्यक्रम चलाउनु पर्छ । यसो गर्न सक्दामात्र गरिबीका कारण विद्यालय छोड्ने प्रवृत्ति कम हुँदै जान्छ । विद्यार्थीहरूले बीचमै विद्यालय छाड्ने अर्को प्रमुख कारण विद्यालयमा हुने लैङ्गिक, जातीय र आर्थिक विभेद पनि हो । यस्तो विभेदलाई निर्मूल गर्न सरकारले ध्यान दिनुपर्छ ।
विद्यालयमा अध्ययन गर्न आउने बहुभाषिक समुदायका विद्यार्थीहरूलाई पढाउने शिक्षकहरूमा भाषाको ज्ञानको सीमितताले पनि विद्यार्थीहरूले विद्यालय छाड्ने गरेको पाइन्छ ।
विकसित मुलुकहरूले आफ्ना बालबालिकालाई अभिभावकले शिक्षा दिन सकेन भने राज्यले दायित्व लिन्छ तर नेपालमा त्यस्तो व्यवस्था नभएकाले नचाहेर पनि विद्यार्थीहरू विद्यालयबाट बाहिरिन बाध्य छन् । बालबालिकालाई शिक्षा दिने दायित्व राज्यले बहन गर्न सक्दा पनि विद्यालय छाड्ने प्रवृत्ति कम हुँदै जान्छ ।