काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली जनता समाजवादी पार्टीका नेता राजकिशोर यादवलाई मन्त्री बनाउन तयार भएका छन् ।
जसपा अध्यक्ष महन्थ ठाकुरले मन्त्रीका लागि बुझाएको सूचीमा यादवको नाम भए पनि २५ जेठमा मन्त्रिपरिषद् पुनर्गठन गर्दा उनलाई ओलीले मन्त्री बनाएका थिएनन् ।
यादवप्रति असन्तुष्टि व्यक्त गर्दै ठाकुरलाई प्रधानमन्त्री ओलीले भनेका थिए,’ अहिले म उहाँलाई मन्त्री बनाउन सक्दिनँ । विगतमा मेरै सरकार गिराउन सक्रिय उहाँलाई कसरी मन्त्री बनाउने ?’
उनले राजकिशोर यादव उपेन्द्र यादवसँग मिलेर आफ्नो सरकार गिराउन सक्रिय रहेको आरोप प्रधानमन्त्रीको थियो । यादव उद्योग मन्त्रालयको जिम्मेवारी सम्हाल्ने गरी ओली सरकारमा सहभागी हुने भएका हुन् ।
यादवसहित सात जना मन्त्री र एकजना राज्यमन्त्री हुँदैछन् । मन्त्री हुनेहरूमा खगराज अधिकारी, मोहन बानियाँ, नैनकला थापा, ज्वालाकुमारी शाह, गणेश पहाडी, नारदमुनि राना, राजकिशोर यादव र एक राज्यमन्त्री आशा विक छन् ।