लोकतन्त्र र संविधान बचाउने जिम्मेवारी दलहरुकै रहेको सर्वदलीय बैठकको निष्कर्ष
  • CIA Khabar

  • बागमती । सभामुख अग्नि सापकोटाले बोलाएको सर्वदलीय बैठकमा नेताहरुले अहिले लोकतन्त्र र संविधान गम्भिर संकटमा परेको भन्दै त्यसलाई बचाउनुपर्ने निष्कर्ष निकालेका छन् । बैठकपछि पूर्व प्रधानमन्त्री तथा जसपाका नेता डा।बाबुराम भट्टराईले प्रतिनिधिसभा पटक पटक विघटन भएको भन्दै लोकतन्त्र नै धरापमा परेकाले यसलाई बचाउन राजनीतिक दलहरु लाग्नुपर्नेमा सबै दल सहमत भएको बताए ।

    ‘अहिले लोकतन्त्र धरापमा परेको छ । पटक पटक संसद विघटन भएको छ । यसमा साझा चिन्ता व्यक्त भयो’, डा. भट्टराइले भने, ‘कोरोना महामारी चर्किएको छ । खोप व्यवस्थापन हुन सकेको छैन । यो विषयमा पनि हामी सबैको एउटै मत रह्यो ।’

    बैठकमा चुरे लगायतका क्षेत्रबाट बालुवा ढुंगा गिटी निकासी गर्ने सरकारको निर्णय गलत रहेको सर्वदलीय बैठकमा सहभागी दलका नेताहरुले ठहर गरेका छन् । नेता भट्टराईले संसद विघटन गलत छ भनेर दलका नेताहरुले सभामुखलाई सुझाव दिएको जानकारी दिए । उनले यसरी पटक पटक संसद विघटन गरिनु निरंकुशता र स्वेच्छाचारिताको​ पराकाष्ठा भएको भन्दै १४६ जनाले अदालतमा निवेदन दिएको र सोही अनुसार निकास आउनेमा विश्वास गरिएको बताए ।

    ‘सभामुखलाई लोकतन्त्रको पक्षमा घच्घच्याउनुस्, लोकतन्त्र बचाइ राख्नुस् भनेर हामीले सुझाव दियौँ’, भट्टराइले भने, ‘उहाँले आफ्नो प्रयास रहने बताउनुभयो ।’ नेता भट्टराईले दलहरु बीचको आन्तरिक कचिङ्गललाई खेलेर नेपालको परिवर्तन र संघीय लोकतान्त्रिक गणतन्त्र मन नपराउने भित्री र बाह्य शक्तिले खेल्ने प्रयास भैरहेकोप्रति दलहरु सचेत रहन जरुरी भएको बताए ।

    सभामुख सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक संसद विघटन गरेपछि उत्पन्न राजनीतिक परिस्थितिका बारेमा पूर्व प्रधानमन्त्रीसहित दलका नेतासँग छलफल गरेका हुन् । यसअघि उनले कानुनविदहरुसँग समेत छलफल गरेका थिए ।

  • २८ जेष्ठ २०७८, शुक्रबार १७:३७ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images