काठमाडौ । नेपाल वायुसेवा निगमको अध्यक्ष पदबाट सुशील घिमिरेले राजीनामा दिएका छन् । अध्यक्ष घिमिरेले बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री उमाशंकर अरगरियालाई राजीनामा बुझाएका हुन् ।
घिमिर १४ अघि अध्यक्षमा नियुक्त भएका थिए । घिमिरेलाई मन्त्रिपरिषदले २ वैशाख २०७७ मा कार्यकारी अध्यक्षमा नियुक्त गरेको थिए । पूर्वपर्यटनमन्त्री योगेश भट्टराईले नेपाल वायुसेवा निगम सुधारका लागि सुझाव दिन बनाएको कार्यदलका संयोजकसमेत रहेका थिए ।
निगम सुधारका लागि बनाएको प्रतिवेदनअनुसार काम हुन नसकेपछि मन्त्री भट्टराईले कार्यकारी अधिकारसहित महाप्रबन्धकमा डिमप्रकाश पौडेललाई नियुक्ति दिएका थिए । महाप्रबन्धकमा पौडेल आएपछि भने उनी अध्यक्षको भूमिकामा मात्र रहेका थिए ।
उनले आफूले बनाएको प्रतिवेदन र गरेका प्रतिबद्धता पूरा गर्न नसकेपछि अध्यक्षबाट राजीनामा दिएर बाहिरिएका बताइएको छ । उनको राजीनामा मन्त्रिपरिषद्बाट स्वीकृत भने भएको छैन ।
उनले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा १८ महिना सचिव भएर कामसमेत गरेका थिए ।