कपिलवस्तु । नेपाली जन प्रगतिशील मोर्चा यूरोपले जन स्वास्थ्य सेवा केन्द्रको भवन निर्माण लागि १८ लाख १५ हजार नेपाली रुपैयाँ सहयोग गरेको छ । कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ९ मा निर्माणधीन अवस्थामा रहेको जन स्वास्थ्य सेवा केन्द्र शिवगढीको भवन निर्माणका लागि सहयोग गरेका हुन् । आइतवार भर्चुअल मिटिङमार्फत नेपाली जन प्रगतिशील मोर्चा यूरोपले नेत्र विक्रम चन्द विप्लपलाई उक्त रकम हस्तान्तरण गरेको हो । कोरोना महामारीको उच्च जोखिम बढ्दै गएपछि जनताका स्वास्थ्यलाई मध्यनजर गर्दै तत्काल जनस्वास्थ्य केन्द्र सञ्चालनमा ल्याई कोरोना संक्रमितहरुको उपचारका लागि १५ शैयाको आइशोलेशन वार्ड संचालनमा ल्याउन लागेको हो ।
रकम हस्तान्रण कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द (विप्लप) ले स्थानीय जनताहरुको सहज उपचारका लागि आइशोलेशन सञ्चालनमा ल्याउनु सराहनीय काम हुने भएको बताउनु भयो । अहिले कोरोनाको दोस्रो स्वरुप निकै खतरनाक रहेकोले यो महामारी फेरी कति बेला आउन सक्छ कुनै निश्चित समय नभएकोले यसबाट बच्न र बचाउन सबैका लागि जिल्लामै सबैभन्दा ठुलो अस्पतालका रुपमा बनाउन लागेको उहाँले बताउनुभयो ।
अस्पताल निर्माण गर्न विभिन्न संघसंस्था र व्यक्तिहरुले सहयोग गरेको बताउँदै महासचिव चन्दले नागरिकको स्वास्थ्य सुरक्षा नै अहिलेको पहिलो प्राथमिकता भएको बताउनु भयो । देशभरी कोरोनाको उपचारमा कठिनाई हुँदै गएको अवस्थामा यस महामारीबाट बच्न र स्वास्थ्य सुरक्षा नजुक बन्दै गएकोले बेला यस विषम परिस्थितिलाई सामना गर्न तत्काल अस्पताल निर्माण गर्न अति आवश्यक रहेको बताउनुभयो ।
सञ्चालनमा आएको अस्पताललाई अझ विस्तार गर्न प्रभावकारी सेवा प्रदान गर्न पार्टीले सरकारसँग पहल गर्ने प्रतिवद्धता समेत महासचिव चन्दले व्यक्त गर्नुभयो । कोरोना संक्रमणबाट सिकिस्त भएर अस्पताल जाँदा अस्पतालमा बेड नपाइने समस्या रहेकोले कोरोनाको छिटो भन्दा छिटो सुविधा सम्पन्न अस्पताल निर्माणको काम तीव्र रुपमा भईरहेको र उक्त अस्पतालबाट सहजरुपमा सेवा दिइने उहाँले बताउनुभयो ।
जनताका सेवाका लागि निर्माणधीन अवस्थामा रहेको अस्पताल सुविधा सम्पन्न बताउन विदेशबाट आर्थिक सहयोग गर्ने नेपाली जन प्रगतिशील मोर्चा यूरोपका लगायतका सबै सदस्यहरुलाई धन्यवाद दिनुभयो । स्वास्थ्य नै ठुलो धन हो भन्दै अस्पताल निर्माणमा सहयोग अहम भूमिका निर्वाह गरेको भन्दै प्रशंसासमेत व्यक्त गर्नुभयो । यसरी नै हरेक कार्यमा हातेमालो गर्दै जाने हो कुनै पनि काम असम्भव नरहेको कुरामा जोड दिनुभयो ।
जनस्वास्थ्य सेवा केन्द्र निर्माण समितिका अध्यक्ष यादव चन्दको अध्यक्षता सम्पन्न कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द (विप्लप) को प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा जनस्वास्थ्य सेवा केन्द्र निर्माण प्रचार प्रसारका संयोजक बिक्रम केसी, जिल्ला इन्चार्ज जुझारु, शिवगढी गाउँ कमिटी इन्चार्ज पाबेल, युवा संगठन जिल्ला अध्यक्ष बादल लगायत केन्द्रीय, प्रदेश र जिल्ला स्तरका नेता, कार्यकर्ता तथा समर्थक, जनसमुदाय, समाजेवी, बुद्धिजीवी लगायतको उपस्थिति रहेको थियो ।