कांग्रेसले थप ३३ जिल्लाको क्रियाशील सदस्य नामावली सार्वजनिक गर्यो
  • CIA Khabar

  • काठमाडौं। आगामी १४ औं महाधिवेशनको तयारीका लागि व्यस्त भएको नेपाली कांग्रेसले थप ३३ जिल्लाका ६५ स्थानको क्रियाशील सदस्यताको नामावली सार्वजनिक गरेको छ ।

    यसअघि १०१ स्थानको नामावली सार्वजनिक गरेको कांग्रेसले थप ३३ जिल्लाका ६५ स्थानको नामावली पार्टीको वेबसाइटमार्फत् सार्वजनिक गरेको हो ।

    कांग्रेसका क्रियाशील सदस्यताको नामावली अझै ७ जिल्लाबाट आउन बाँकी छ । छानविन समितिका अनुसार सप्तरी, बारा, सिन्धुपाल्चोक, प्यूठान, बर्दिया, रुकुम पश्चिम र डडेलधुराबाट सदस्यता नामावली आउन बाँकी छ ।

    हालसम्म सार्वजनिक गरिएका नामावली उपर कुनै उजुरी, गुनासा वा सुझाव भएमा सम्बन्धित पार्टी निकाय वा व्यक्तिले आगामी असार ६ गतेभित्र प्रमाणसहित केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिमा सम्पर्क गर्न सकिने समितिका सचिव केशव रिजालले जानकारी दिए ।

    नामावलीमा कुनै त्रुटी भएको भए वा छुट भएको भए नयाँ सदस्यतातर्फ प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले र नवीकरण तर्फको जिल्ला कार्यसमितिले स्पष्ट आधार र प्रमाणसहित त्रुटी सच्याइदिनका लागि वा नाम समावेश गरिदिनका लागि असार ६ गतेभित्र पठाइसक्नुपर्ने छ ।

    नेपाली कांग्रेसको चौधौं महाधिवेशन आगामी भदौ १६ गतेबाट सुरु हुँदैछ । क्रियाशील सदस्यताको विवाद मिलाउन नसकेपछि कांग्रेसले महाधिवेशनको मिति ९ दिन पछि सार्ने निर्णय गरेको छ ।

  • ३१ जेष्ठ २०७८, सोमबार १४:३१ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images