काठमाडौँ । युरोकप २०२० अन्तर्गत शुक्रबार भएको खेलमा स्विडेनले स्लोभाकियालाई हराएको छ । स्विडेनले स्लोभाकियालाई १-० अन्तरले पराजित गरेको हो ।
खेलको पहिलो हाफ गोलविहीन बनेको थियो । दुवै टिमले गोलको केही अवसर बनाए पनि गोल गर्न भने सकेका थिएनन् । दोस्रो हाफको ७७औँ मिनेटमा स्विडेनले पेनाल्टीको अवसर पायो । स्लोभाकियाका किपर मार्टिन डुब्रावकाले डिबक्सभित्रै स्विडेनका खेलाडीलाई लडाएपछि स्विडेनले पोनाल्टीको अवसर पाएको थियो ।
सोही पेनाल्टीलाई सदुपयोग गर्दै स्विडेनले खेलमा अग्रता बनायो । स्विडेनका इमिल फोर्सवेर्गले पेनाल्टीको अवसरलाई गोलमा परिणत गरेका थिए । अन्ततस् सोही पेनाल्टी गोल नै निर्णायक गोल बन्न पुग्यो ।
समूह ‘ई’ अन्तर्गतको स्विडेन यसअघिको खेलमा स्पेनसँग बराबरीमा रोकिएको थियो । उक्त खेलबाट १ अंक पाएको स्विडेनले दोस्रो खेलमा स्लोभाकियालाई हराएसँगै ३ अंक जोडेको छ । अहिले स्विडेन ४ अंकसहित समूहमा शीर्ष स्थानमा छ । स्विडेनले लगभग नकआउट चरणमा स्थान पक्का गरेको छ ।
यसअघि पोल्याण्डलाई हराएको स्लोभाकियाले भने ३ अंकसहित दोस्रो स्थानमा छ ।