७५ वर्ष नाघेका आफन्त हुनुहुन्छ । छोराछोरी विदेशमा छन् । उहाँहरू पनि बेलाबेला छोराछोरी भएका फरकफरक देश गइरहनुहुन्छ । र, केही समय बिताएपछि नेपाल फर्किनुहुन्छ । उहाँहरूलाई नेपालमै बस्ने मन छ । काठमाडौंमा दुईवटा घर छन्, काम गर्ने सहयोगी पनि छन् । सबै सुविधा भए पनि अहिले बुढेसकालमा कुनै एक सन्तान आफूहरूसँग बसुन् भन्ने उहाँहरूको चाहना छ । आफ्नी एक छोरी नेपाल आएको बेला आफन्तले भन्नुभयो, ‘यहाँ हामीसँग बस् । तेरो आमा पाँच वर्ष बढी बाँँच्छे ।’ तर विदेशमा आफ्नो काम, परिवार र सन्तानको भविष्य जस्ता कुराले यता आएर बस्ने निर्णय गर्न भने गाह्रो हुने रहेछ ।
विदेशमै सबै छोराछोरी सेटल भएपछि एक वृद्धदम्पतीले काठमाडौंको आफ्नो सम्पत्ति बेचे र उतै गए । सम्पत्ति पनि छोराछोरीलाई नै दिए । ‘पछि आमा बिरामी भइन् । बिरामी भएपछि एक वृद्धाश्रममा राखेका छन् । वृद्धाश्रमको खर्च पठाउँछन्’ मेरी साथी भन्छिन, ‘स्वार्थीहरू, यहाँ भएको सम्पत्ति पनि खाए । हातखुट्टा चलुन्जेल, बलियो हुन्जेल विदेशमा जोताए । बिरामी भएपछि यहाँ ल्याएर छोडिदिए ।
विदेशमा छोराछोरी हुनेको मात्र होइन, यहीँ आफूसँगै सन्तान हुनेको अवस्था पनि कष्टकर हुँदै आएको छ । एक जना चिनेजानकी दिदी बिरामी हुनुहुन्थ्यो । छोराबुहारी उहाँलाई खासै वास्ता गर्दैनथे । नाटक गरेको भन्थे । उनीहरू आफ्नो काममा गइहाल्थे । बिरामी भएको बेला स्याहारसुसार पाउनुपर्नेमा उहाँ आफैँ सकीनसकी खाना बनाएर खानुहुन्थ्यो । केही समयअघि उहाँ बित्नुभयो ।
अर्का एक ७० वर्ष नाघेका पुरोहित हुनुहुन्छ । कान्छी बुहारी र नाति(नातिनीसँग बस्नुहुन्छ । छोरा पोहर बिते । जजमानीको काम सकिए पनि तुरुन्तै आफ्नो घर जान मन गरिहाल्नु हुन्न । ‘घर गएर के गर्नु, मसँग बोल्ने पनि कोही हुँदैन । नाति(नातिनी मोबाइलमा र बुहारी घरको काममा व्यस्त हुन्छन्’ लामो सुस्केरा हाल्दै भन्नुहुन्छ, ‘मलाई अलि सन्चो नभएर बिहान एक डेढ घण्टा ढिलो उठ्दा सन्चो भएन कि भनेर चासो राख्ने कोही छैनन् । लोग्नको स्वास्नी र बालकको आमा पहिल्यै नलग भगवान्।’
उहाँ जजमानीबाट कमाउनुहुन्छ । आफ्नै सम्पत्ति छ । तर, बुढेसकालमा आफ्नो वास्ता गर्ने कोही नभएको जस्तो महसुस भएको छ उहाँलाई । ‘म ५१ वर्षको हुँदा श्रीमती बितिन् । त्यतिखेर कतिले दोस्रो बिहे गर भनेका थिए । मैले मानिनँ । गरेको भए हुन्थ्यो जस्तो लाग्छ अहिले,’ उहाँ भन्नुहुन्छ ।
हाम्रा वरपर, छरछिमेक, परिवार अनि आफन्तकहाँ देखिने यी केही उदाहरण मात्र हुन्, बुढेसकाल कष्टकर बन्दैछ भन्ने । कतिपय बूढाबूढी त आफ्ना छोरा बुहारीलाई आफूलाई मन लागेको खानेकुरा खान मन लाग्योसमेत भन्न सक्दैनन् । छोराबुहारीको हप्की सहेर, दुर्व्यवहार खपेर बस्न बाध्य छन् ।
आफन्त जाँदा निकै राम्रो व्यवहार गरेको जस्तो अभिनय गरेर देखाए पनि भित्रभित्रै दुर्व्यवहार गरेर दुःख दिने छोराबुहारी पनि छन् । नियमित आम्दानीको कुनै स्रोत नहुने त अझ बढी पीडित छन् । यस्तो स्रोत र सम्पत्ति प्रशस्तै भए पनि शरीर दुर्बल भएकाले अपहेलना सहन बाध्य वृद्धवृद्धा पनि छन् । कति त घरपरिवारको इज्जत जाला, कुट्लान कि वा केही गर्लान् कि भन्ने डरले सबै कुरा लुकाएर बस्छन् ।
‘किन डराउने रु मैले दुःख गरेर कमाएको सम्पत्ति हो । बाघको छालामा स्यालको रजाइँ भएको छ । अहिलेसम्म मेरै पेन्सनबाट खाएको छु’ भन्ने गर्नुहुन्थ्यो ९० वर्षका एक हजुरबुबा । काठमाडौंमा उहाँको प्रशस्तै जग्गा छ । उहाँकी श्रीमती धेरै अघि बित्नुभएको हो । तर आफूले सौतेनी आमाको दुर्व्यवहार भोगेकोले उहाँले दोस्रो बिहे गर्नुभएन । छोराबुहारीको व्यवहार चित्त बुझेन भने उहाँ आफ्नो नजिकको आफन्तकहाँ गएर बस्नुहुन्थ्यो । घरको कुरा बाहिर भन्ने भनेर छोराबुहारी मुर्मुरिए पनि उहाँको निडरपनबाट भने छोराबुहारीमाथि दबाब परेको देखिन्थ्यो । आफूलाई दुर्व्यवहार गर्ने सन्तानविरुद्ध कतिले त उजुरीसमेत गर्ने गरेका छन् ।
विशेषगरी बिहेपछि आमाबुबा तथा छोरा बुहारीबीच सम्बन्ध अलि फिका भएको जस्तो देखिन्छ । यसमा उमेरको फरकले हुने फरक सोच पनि एउटा कारण हो । आफ्नो बेला र अनुभवका आधारमा बूढाबूढीको कुनै पनि विषयलाई हेर्ने आफ्नै दृष्टिकोण हुन्छ । त्यसैलाई हेर्ने छोराबुहारीको सोच वा दृष्टिकोण फरक हुन सक्छ ।
उमेर बढ्दै जाँदा उनीहरू छोराले आफूलाई बढी वास्ता गरोस् भन्ने चहान्छन् । तर, छोराको आफ्नै परिवार भएपछि जिम्मेवारी थपिन्छ । र जिम्मेवारीकै क्रममा व्यस्तता पनि बढ्छ । अनि कतिपय आमाबुबा छोरा टाढिएको महसुस गर्न थाल्छन् ।
त्यस्तै बिहे भएर आएकी बुहारीको व्यवहार र सोच परिवारसँग नमिल्दा पनि फरक परिरहेको हुन्छ । एउटै घरमा लामो समयसम्म बसेका आमाबुबा छोराछोरीको त सोचविचार मिल्दैन भने अर्को घरबाट आउने बुहारीको स्वभाव सोच फरक हुनु स्वाभाविक नै हो ।
सबैलाई आफ्नो सोच र व्यवहार ठीक, अरुको गलत भन्ने लागेपछि सानोतिनो कुराका कारण नै परिवारमा खटपट सुरु भइहाल्छ । एकले अर्कोको बानी स्वीकार्न नसक्दा यही सामान्य खटपटले ठूलो रूप लिन्छ । र, कलह सुरु हुन्छ । अनि कतिपय छोराबुहारी स्वतन्त्र रूपमा बस्न चहान्छन् । सँगै बसे पनि त्यति वास्ता गर्दैनन् ।
अर्को कारणचाहिँ दुष्ट स्वभाव पनि हो । यो दुर्गुण छोरा वा बुहारी वा दुवैमा हुन सक्छ । यस्ता स्वभाव भएका दाइभाउजू वा भाइबुहारी वृद्ध आमाबुबालाई भेट्न जाँदा दिदीबहिनीलाई समेत नराम्रो व्यवहार गर्छन् ।
छोराबुहारीले राम्ररी नहेरेर वा छोराबुहारीसँग मिल्न नसकेर छोरी ज्वाइँसँग बस्न थालेका पनि छन् । बुढेसकालमा छोराभन्दा छोरीले नै माया गर्छन्, बुढेसकालका लागि छोरी चाहिदो रहेछ भनेको पनि खुबै सुनिन्छ । तर, त्यही छोरीले आफ्ना वृद्ध सासूससुरालाई हेरेकी छिन् त रु सासूससुरालाई वास्ता नगर्ने तर आफ्ना आमाबुबालाई घरमा राख्ने छोरी पनि छन् ।
आफ्ना आमाबुबालाई आफ्नी श्रीमतीले गरेको अपहेलना टुलुटुलु हेर्न लाचार श्रीमान् पनि छन् । आमाबुबालाई असाध्यै माया गर्ने तर छोरीले झैँ व्यक्त गर्न नसक्ने छोरा पनि थुप्रै छन् । बुढेसकालमा हेर्छु भनेर सम्पत्ति खाने तर वास्ता नगर्ने लालची छोरीज्वाइँ पनि छन् । छोरा नभएका तर सम्पत्ति भएका आमाबुबाका छोरीहरूबीच आमाबुबालाई कसले हेर्ने, कसले खुशी तुल्याउने भन्ने प्रतिस्पर्धासमेत चलेको देखिन्छ । आमाबुबासँग प्रशस्त सम्पत्ति छ भने छोराबुहारीहरूबीच पनि यस्तो प्रतिस्पर्धा हुन्छ ।
कतिपय छोराबुहारी आफ्नो कर्तव्य ठानेर बूढाबूढीको बानीव्यहोरालाई ठूलो मुद्दा बनाउँदैनन् । सम्पत्ति नै सबभन्दा ठूलो हो भन्दैनन् । त्यसैले जेठो वा कान्छोसँग बस्ने चलन भए पनि अरु छोरासँग बसेको र बस्ने चाहना गरेको पनि देखिन्छ । यसमा कुन छोरा, अझ भन्नुपर्दा बुहारी समझदार छन् भन्ने कुराले पनि फरक पारेको पाइन्छ ।
परिवारबीच बेमेल, एकल परिवार, विदेश जाने लहर, स्वतन्त्रताको चाहना, काम, जिम्मेवारी, व्यस्तता आदि कारणले वृद्धावस्था कष्टकर बन्दै गइरहेको छ । तर मन भयो भने अनेक उपाय निस्कन्छन् । घरभित्र मनमुटाव भए आफैँ छलफल गरेर टुंग्याउन सकिन्छ । सबैका कोही न कोही आफन्त यति विश्वासिला र समझदार हुन्छन्, जसले भनेको सबैले मान्छन् । यस्ता आफन्तको सहयोग लिएर पनि पारिवारिक विवाद अन्त्य गर्न सकिन्छ ।
बूढाबूढीले आफूलाई माया गरून्,वास्ता गरून् भन्ने न चाहेका हुन्छन् । समय निकालेर उनीहरूसँग गफ गर्ने, केही खान मन छ कि रु भनेर सोध्ने, सन्चो भए नभएको चासो राखिदिने, नातिनातिनीलाई समय बिताउन लगाउने हो भने उनीहरू धेरै खुशी हुँदा रहेछन् । उनीहरू केही भन्दैनन् वा कम बोल्छन् भन्नुको अर्थ सब ठीक छ भन्ने हुँदैन
बूढाबूढीलाई करुणाको नजरबाट हेर्यो भने, महसुस गर्न सकियो भने कुनै न कुनै उपाय निस्कन्छ । मेरी एक साथीले आफ्नो श्रीमान् तथा जेठाजुजेठानीसँग मिलेर वृद्ध बिरामी ससुरालाई स्याहारिन् । उनलाई पक्षघात भएपछि उनीहरूले आफ्नो काम र समय व्यवस्थापन गरेर मिलीजुली स्याहारे । अर्की एक साथीले आफ्नो दाइ विदेशमा भएकाले आफ्नी आमा र बिरामी सासूलाई आफूसँगै राखेर स्याहारिन् । अर्को एक घरमा दाइ(दिदी(बहिनी फरक फरक फ्ल्याटमा बस्थे । सबैका आआफ्नो परिवार थिए । सबै मिलेर बूढी आमालाई स्याहार्थे । हजुरआमाको खुशीका लागि नातिनातिनी उनीसँग तास खेल्थे । उनको साथमा कोही न कोही भइरहन्थे । एक्लोपनको महसुस कहिल्यै गर्नुपरेन उनलाई । उनको बुढेसकाल लोभलाग्दो थियो ।
बूढाबूढीले आफूलाई माया गरून्, वास्ता गरून् भन्ने न चाहेका हुन्छन् । समय निकालेर उनीहरूसँग गफ गर्ने, केही खान मन छ कि रु भनेर सोध्ने, सन्चो भए नभएको चासो राखिदिने, नातिनातिनीलाई समय बिताउन लगाउने हो भने उनीहरू धेरै खुशी हुँदा रहेछन् । उनीहरू केही भन्दैनन् वा कम बोल्छन् भन्नुको अर्थ सब ठीक छ भन्ने हुँदैन । अशक्त भएका बेला छोराबुहारी, छोरीज्वाइँ, नातिनातिना वा अरु आफन्त सबै मिलेर हेरचाह गर्न सकिन्छ ।
अहिले हामी स्वस्थ छौँ । हाम्रो उमेर छ । शरीरमा शक्ति छ । त्यसैले हामी हाम्रो बुढेसकाल आउँदैन, शरीर दुर्बल हुँदैन जस्तो गर्छौं । हाम्रा छोराछोरीले त हामीलाई बुढेसकालमा राम्रो गर्छन् भन्ने सोच्छौँ । विश्वास गर्छौं । यस्तो सकारात्मक सोच राख्नु धेरै राम्रो हो । तर, हाम्रा सन्तानले वृद्ध आमाबुबाप्रति हामीले पूरा गरेको जिम्मेवारी पनि देख्नुपर्यो नि होइन र ।
यस्तै जिम्मेवारी सिकाउन लोकप्रिय कलाकार मदनकृष्ण श्रेष्ठका छोरा यमन श्रेष्ठ ग्रीन कार्ड छोडेर अमेरिकाबाट नेपाल फर्किएका थिए । ‘आमालाई क्यान्सर भएको थाहा पाएपछि विश्वको कुनै पनि देश, सुख, ग्याजेट्स, विलासितालाई मैले धेरै सानो देखेँ । परिवारप्रति निर्वाह गर्नुपर्ने जिम्मेवारी छोरीलाई सिकाउनु पनि थियो,’ एक दैनिकमा प्रकाशित लेखमा उनले भनेका छन् ।
छोरीले एक दिन अस्पतालमै बसिरहँदा भनिन्, ‘तपाईंहरू बूढाबूढी भएपछि म पनि तपाईंहरूलाई छोडेर कतै जान्नँ । तपाईंहरूले तपाईंको आमाबुबाको साथ दिएजस्तो म पनि तपाईंहरूसँगै बस्छु र सेवा गर्छु ।’
बिरामी आमाको उपचारको क्रममा घर(अस्पताल, अस्पताल(घर गर्दागर्दै उनको परिवारको दैनिकी बित्थ्यो । आफ्नी छोरीले कति पटक त अस्पतालमै बसेर होमवर्क गर्ने गरेको उनले उल्लेख गरेका छन् । उनकी छोरीले एक दिन अस्पतालमै बसिरहँदा भनिन्, ‘तपाईंहरू बूढाबूढी भएपछि म पनि तपाईंहरूलाई छोडेर कतै जान्नँ । तपाईंहरूले तपाईंको आमाबाबाको साथ दिएजस्तो म पनि तपाईंहरूसँगै बस्छु र सेवा गर्छु ।’
अहिले हामीमध्ये कतिलाई पैसा भएपछि बुढेसकाल कष्टकर हुन्न भन्ने पनि छ । हाम्रो पालामा एक से एक सुविधासम्पन्न वृद्धाश्रम खुलिहाल्छ नि भन्ने पनि छ । बुढेसकाल बिताउन सन्तानको साथमा वा वृद्धाश्रममा रु रोज्न दिइयो भने हामी के रोज्छौँ होला । अहिले नै कतिले आफ्ना आमाबुबालाई वृद्धाश्रममा राखेका पनि छन् । तर, अझै पनि धेरै वृद्ध आमाबुबा आफ्ना सन्तानसँगै बसेका छन् । आमाबुबालाई बुढेसकालमा हेर्ने हाम्रो संस्कार गर्व गर्न लायक छ ।
समयसँगै शहरीकरण बढ्दै जाँदा, समाज बद्लिँदै जाँदा घर परिवारको संरचना पनि बद्लिँदै जाला । यस्तो समय पनि आउला कि हाम्रा छोराछोरीले जन्मदिनमा शुभकामना दिन फोन गर्लान् वा मिस यु भन्लान् वा चाडबाडमा मात्र उनीहरूसँग भेट होला । समाजको बद्लिँदो रूपमा हामी हाम्रो बुढेसकाल आफ्ना सन्तानका साथमा बिताउन पाऔँला या नपाऔँला ।
वृद्धाश्रममा बिताउनुपर्ने हुन सक्ला । हाम्रो बुढेसकाल कस्तो होला, त्यो त आउने समयले बताउला । त्यो समयलाई हामी स्वीकारौँला पनि । तर हामीले हाम्रा वृद्ध आमाबुवालाई अहिले गरेको व्यवहार सम्झेर त्यतिखेर आँखामा पश्चातापको आँसु होइन, चित्तमा सन्तोष मिलोस् । आखिर हाम्रो पनि बुढेसकाल आउँदैछ । रोकेर रोकिने भए पो