काठमाडौं। नेपाली कांग्रेस प्रदेश १ संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले प्रदेश सरकारका मन्त्रीहरू नै कमिसनको सेटिङमा लिप्त हुँदा सरकारप्रतिको विश्वास घट्दै गएको बताएका छन् ।
आइतबार नेपाल प्रेस युनियन ओखलढुंगाले आयोजना गरेको पत्रकार सम्मेलनमा कार्कीले प्रदेश सरकार तस्करहरूको घेराबन्दीबाट बाहिर निस्कन नसकेको आरोप लगाएका हुन् ।
‘विकास निर्माण, कोभिड नियन्त्रण स्वास्थ्य सामग्री र औषधि खरिदमा ठूलो अनियमितता भएको छ,’ उनले भने, ‘खोपको समानुपातिक वितरण हुन सकेको छैन, कात्रो किन्न समेत सेटिङ मिलाएर कमिसनको चक्करमा लागेको देखिन्छ ।’
उनले प्रदेश एक आर्थिक, सामाजिक, भौगोलिक, पर्यटकीय, धार्मिक, जातीय तथा भाषिक हिसावले देशकै एक नम्बरमा आउने सम्भावना बोकेको भएपनि सरकारको कार्यशैलीले सम्भावना कमजोर भएको बताए ।
सरकारमा रहेको दलभित्र एक समूहले अर्कोलाई पाखा लगाएर चलखेलमा विकाससँग सम्बन्धित ठेक्कापट्टा दिने गरिएको आरोप उनले लगाए ।
‘मुख्यमन्त्री जनताको सेवकभन्दा पनि शासक बन्न थालेकाले धेरै कार्यक्रम मुख्यमन्त्रीका नाममा ल्याइएको छ,’ उनले भने, ‘आफू निकटका कार्यकर्ताको भरपोषणमा केन्द्रीत हुने गरी आएका कार्यक्रमले जनताको जनजीविकामा फरक परेको छैन ।’
उनले प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेटसमेत भैँसीलाई एकमुठ्ठी चामल दिएर अघाउन लगाएको जस्तो भएको टिप्पणी गरे ।