काठमाडौं। मेगा बैंकले आफ्ना ग्राहकका लागि स्मार्ट फोनबाटै तत्कालै प्राप्त गर्न सकिने कर्जा सुविधा ल्याएको छ ।
आफ्ना ग्राहकहरूलाई आवश्यक रकम तत्कालै उपलब्ध गराउने उद्देश्यका साथ मेगा बैंकले एफ वन सफ्ट इन्टरनेसनल प्रालिसँगको सहकार्यमा यो कर्जा सुविधा ल्याएको हो ।
यस सुविधामार्फत मेगा बैंकमा आफ्नो मासिक तलब खाता भएका विभिन्न संघसंस्था तथा कम्पनीका कर्मचारीहरूले ३० दिनसम्मका लागि अधिकतम २ लाख रुपैयाँ उपभोग गर्न सक्नेछन् ।
बिनाझन्झट, बिनाधितो बैंकमा उपस्थित नभई बिना कुनै कागजात तत्कालै फोनमार्फत कर्जा पाइने भएकाले यो कर्जा सुविधा निकै छिटो र सहज हुने मेगा बैंकका डिजिटल तथा ईबैंकिङ प्रमुख विश्व सिंहले बताए ।
मेगा स्मार्ट बैंकिङ एपमार्फत अनलाइन आवेदन दिएको केही मिनेटमै ग्राहकलाई ‘भर्चुअल क्रेडिट कार्ड’ मार्फत् खातामा कर्जा रकम जम्मा गरिनेछ ।कर्जा लिन इच्छुक ग्राहकहरूले बैंकको शाखा भ्रमण गर्नु नपर्ने र अन्य कुनै कागजी प्रक्रियाको झन्झट लिनु नपर्ने बैंकले जनाएको छ ।